१००
Sharesधादिङ : धादिङको नीलकण्ठ नगरपालिकाको विद्यालयका बालक्लब फोकल शिक्षकहरुका लागि बालक्लब गठन,परिचालन तथा बाल अधिकार प्रवर्द्धन सम्बन्धि तालिम सञ्चालन गरिएको छ ।
नगरपालिकाको आयोजनामा शिक्षकहरूका लागि दुई दिवसिय प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । आईतबार र सोमबारधादिङबेसीमा सञ्चालन भएको तालिममा नगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयका ८५ जना बालक्लब फोकल शिक्षकहरू सहभागी थिए।
बाल अधिकार, बाल संरक्षण, तथा विद्यालयस्तरमा बालक्लबको प्रभावकारी सञ्चालनका विषयमा केन्द्रित उक्त तालिममा बाल अधिकार तथा यसको महत्व, स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत बालबालिका सम्बन्धी कानुनी प्रावधान, बाल समूह तथा संजाल स्थापनाका उपायहरू, बाल संरक्षणका विभिन्न आयामहरू तथा विद्यालय र समुदायमा बाल सहभागिताको आवश्यकताबारे जानकारी प्रदान गरिएको थियो ।
बालमैत्री विद्यालय तथा समुदाय निर्माणका लागि शिक्षकहरूको भूमिका, बाल क्लबको संस्थागत विकास, बाल सहभागिता वृद्धि तथा नेतृत्व विकासका विषयमा छलफल गरिएको थियो ।
साथै बालमैत्री स्थानीय शासनका सूचकहरु, बालक्लब सञ्चालन तथा व्यवस्थापन, सम्पर्क कक्ष सञ्चालन, बैठक तथा माइन्युट लेखन,बालक्लबसँग हुनुपर्ने न्यूनतम सामग्री तथा दस्तावेजहरूको व्यवस्थापन लगायतका बिषयमा बाल अधिकारको क्षेत्रमा लामो समय देखि काम गर्दै आएका प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नुभएको थियो।
कार्यक्रमको समापन समारोहमा नगर उपप्रमुख दीपक बिक, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, सामाजिक बिकास समिति संयोजक मञ्जु मगर,सामाजिक शाखाका अधिकृत उर्मिला थपलिया,सुचना प्रविधि अधिकृत राज कुमार श्रेष्ठ, दिनेश डुवाडी,निर्मला केसी,शिक्षा शाखा प्रमुख प्रकाश दत्त भट्ट लगायतको उपस्थिति रहेको थियो।
तालिममा सहभागी शिक्षकहरूले विद्यालयस्तरमा बालक्लबको संस्थागत विकास,सशक्तीकरण तथा बाल अधिकार प्रवर्द्धनका लागि तालिम निकै उपयोगी भएको बताएका छन् ।
तालिमबाट प्राप्त ज्ञान तथा सीपको प्रयोग गर्दै बालमैत्री वातावरण निर्माणमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।