९८
Sharesफाइल तस्विर
२४ असार ,२०८१: वर्षाका कारण गत जेठ २८ गतेदेखि आज २४ गते दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतमा परेर ७४ जनाको मृत्यु भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ उपत्यकामा १, कोशी प्रदेशमा १८, मधेश प्रदेशमा ३, बागमती प्रदेशमा ४, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ४ जनागरी ७४ जनाको मृत्यु भएको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले विपद्मा परेर काठमाडौँ उपत्यकामा ३, कोशी प्रदेशमा २१, मधेश प्रदेशमा ५, बागमती प्रदेशमा ४, गण्डकी प्रदेशमा २६, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिम प्रदेशमा १० जनागरी ८८ जना घाइते भएका जानकारी दिनु भयो।
साथै कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी ५३ जनाको उद्दार गरिएको छ। बाढी पहिरोमा परी कोशी प्रदेशमा २, बागमती प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १ गरी ५ जना बेपत्ता भएका छन्। वेपत्ताको खोजी कार्य जारी रहेको उहाले बताउनु भयो ।
बाढीको कारण १६१ घर डुबानमा परेका छन्। ९४ वटा घर, ५३ वटा गोठ, ४१ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। कुल ३सय ३५ वटा पशु चौपायको मृत्यु भएको जनाइएको छ।
ती विपद्का घटनाबाट २ हजार २९६ घर परिवार विस्थापित भएका छन्। बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका प्रभावित परिवारलाई सुरक्षित स्थानमा राख्ने तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत भइरहेको प्रवक्ता कार्कीले जानकारी दिनु भयो।