२०४
Shares२४ भाद्र, २०८० । जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
प्रतिवादी केशव तुलाधरलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको हो । न्यायधीश भोलानाथ ढकालको इजलासले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङसहित १७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको हिरासतमा १८ जना थिए । अदालतले गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको अदालतका प्रवक्ता दिपक दाहालले जानकारी दिनुभयो । अन्य प्रतिवादीहरु शिवजी भट्ट र ध्रुव प्रसाद अर्यालसँग प्रतिव्यक्ति ३ लाख ३० हजार, रुद्र कुमार श्रेष्ठ, लोकहरि घिमिरे, घमन कुमार कार्की बालकृष्ण श्रेष्ठ, गोपाल कार्की, योगराज पौडेल, नारायणराज मिश्र र अरुण कुमार श्रेष्ठसँग प्रक्तिव्यक्ति ७ लाख ५० हजार धरौटीको माग गरेको छ ।
कलाधर देउजा र विनोद पौडेलसँग भने १५ लाख धरौटी माग गरेको प्रवक्ता दाहालले जानकारी दिनुभयो । यस्तै, बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन र सञ्जय कुमार महर्जनसँग अदालतले १ लाख १० हजार धरौटी मागेको छ ।