FLASH NEWS

धादिङ जिल्लामा ४१ करोड ३८ लाख ४५ हजार रुपैयाँ विद्युत् महशुल उठ्न बाँकी

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण ३२, बिहिबार (१ साल अघि)
  • १६१

    Shares

धादिङ जिल्लामा ४१ करोड ३८ लाख ४५ हजार रुपैयाँ विद्युत् महशुल उठ्न बाँकी

३२ साउन ,धादिङ।      धादिङ जिल्लामा ४१ करोड ३८ लाख ४५ हजार रुपैयाँ विद्युत् महशुल उठ्न बाँकी रहेको छ।

नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेका अनुसार धुनिबेँसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगले मात्र २७ करोड ५९ लाख ६४ हजार महशुल तिर्न बाँकी छ। महशुल नतिर्ने एक हजार ७४८ जनाको विद्युत् लाइन काटिए पनि १७७ ग्राहकले अझैसम्म महशुल तिरेका छैनन्। १०३ जना उपभोक्तालाई प्राधिकरणले कालोसूचीमा राखेको छ।

लाइन काटेपछि चार करोड २६ लाख ७४ हजार असुली गरेको शाखा प्रमुख न्यौपानेले जानकारी दिनु भयो । कालोसूचीमा परेका उपभोक्ताबाट ३७ लाख १२ हजार असुल गर्न बाँकी छ। धादिङ शाखाले गत आर्थिक वर्ष २०७९/८० मा एउटा ग्राहकको रकम उठाउन काठमाडौं र भक्तपुरमा समेत उनीहरूको घरमा लाइन काटेको प्रमुख न्यौपानेले बताउनु भयो ।

त्यस्तै विद्युत् चोरीको घटना पनि गत वर्षको तुलनामा बढेको छ । चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रुख काट्ने, नाङ्गो तारलाई कालो तारमा रुपान्तरण गर्ने तथा ट्रान्सफर्मर थप गरेर विद्युत् सञ्चालन गरे पनि चोरी नियन्त्रणमा आउन सकेको छैन।

गत आवमा विद्युत् चोरी गर्ने २९४ जनालाई कारबाही गरिएको थियो। उनीहरूबाट १४ लाख ८१ हजार जरिवाना असुल गरिएको उहाले बताउनु भयो।

अघिल्लो आवमा १२३ जनालाई विद्युत् चोरीअन्तर्गत कारबाही गरिएको थियो। गत आवमा ११ करोड २२ लाख ९१ हजार ६०९ युनिट विद्युत् बिक्री गरी एक अर्ब दुई करोड रकम संकलन भएको प्राधिकरणले जनाएको छ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस