३८९
Shares२६ साउन,२०८०। भक्तपुरको चाँगुनारायणमा नक्कली नोट उत्पादन गर्ने कारखाना रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले करिब ५३ लाख रुपैंया नेपाली नक्कली नोटसहित प्रहरीले ९ जनालाई पक्राउ गरी अनुसन्धान गर्दा कारखाना नै रहेको पत्ता लागेको हो । कारोबारीहरुले चाँगुनारायणमा कारखाना नै सञ्चालन गरेर नक्कली नोट उत्पादन गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । नक्कली नोट ५२ लाख ७५ हजार रुपैंयासहित सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, अर्जुन सुवेदी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र पार्वती नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो लुम्बिनीबाट काठमाडौं आउँदै गरेको लु १ प ५ नम्बरको पर्यटक बसबाट थानकोटमा चेकजाँचको क्रममा नक्कली ३६ लाख ७३ हजार रुपैयाँ बरामद भएको थियो । त्यसपछि खोजतलासका क्रममा गोंगबु बसपार्क र चाँगुनारायणबाट थप रकम र कारोबारीलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका अर्जुन सुवेदीको चाँगू बुढाथोकीगाउँस्थित कोठाबाट नक्कली नोट छाप्न प्रयोग हुने कलर प्रिन्टर, कम्प्युटरसमेत बरामद गरेको प्रहरीले जनाएको छ । हालसम्मको अनुसन्धानले सुवेदी नै गिरोहको नाइके भएको खुलेको छ ।