FLASH NEWS

आँखाको ज्योति नै गुम्नसक्ने शापु रोगको जोखिम निम्तिदैं, सेतो पुतलीबाट जोगिन सरकारको आग्रह

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० श्रावण २१, आईतबार (१ साल अघि)
  • ४५४

    Shares

आँखाको ज्योति नै गुम्नसक्ने शापु रोगको जोखिम निम्तिदैं, सेतो पुतलीबाट जोगिन सरकारको आग्रह

२१साउन,कवि थापामगर:   आँखा पाक्ने समस्या देशव्यापी रुपमा फैलिइरहँदा सरकारले आखाँको अर्को समस्या शापुबारे सचेत गराएको छ ।

एडिनो भाइरसका कारण हुने आँखा पाक्ने समस्या नियन्त्रणमा नआउँदै सरकारले आँखाको ज्योति नै गुम्न सक्ने समस्याको बारेमा सर्तक रहन भनेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना निकालेर वर्षा यामपछि भदौदेखि मंसिरसम्म दृष्टिनाशक रोग शापु महामारीको रुपमा देखिने गरेकोले सचेत रहन आग्रह गरकेो छ । विशेष गरी नेपालको मध्यपहाडी भेगमा शापु महामारीको रुपमा देखिने गरेको मन्त्रालयले बताएको छ । सेतो पुतलीबाट लाग्ने यो रोगको लक्षणहरु देखापरेको २४ देखि ४८ घण्टाभित्र उपचार नपाए आँखाको दृष्टि नै गुम्नसक्ने भन्दै सेतो पुतलीदेखि सावधान रहन सरकारले सचेत गराएको हो ।

समयमै उपचार भएमा यो रोग निको हुने भएकाले शापुको संका लागेमा तुरुन्तै अस्पतालमा जान मन्त्रालयले सुझाव दिएको छ । साथै आफुखुसी औषधी वा जडिबुटीको प्रयोग नगर्नसमेत अनुरोध गरेको छ । यो रोग सबै उमेरका व्यक्तिमा देखिएपनि बालबालिका बढी प्रभावित हुने गरेका छन् । शापु रोगको संक्रमण भएमा एक्कासी एउटामात्र आँखा राखो हुने, चिप्रा नलाग्ने, उज्यालोमा हेर्न नसक्ने, आँखा दुख्ने जस्ता लक्षण देखिन्छन् । उपचारमा ढिलाई भए कालो नानीमा सेतो समेत देखिने र तत्कालै आँखाको दृष्टिमा समेत कमी आउने भएकाले लापरबाही नगर्न सचेत गराएको छ ।

सेतो पुतलीको संसर्गबाट टाढै रहने, धेरै उज्यालो सेतो बत्ती नबाल्ने, साँझ र राती झ्यालढोका बन्द गर्ने तथा सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ति बालेर, झुल लगाएर सुत्ने गरेमा शापुको रोकथाम गर्न सकिने राष्ट्रिय स्वास्थ्य, शिक्षा सूचना तथा सञ्चार केन्द्रले जनाएको छ । सेतो पुतली (मोथ)लाई शापु रोगको कारक मानिएपनि कतिपय अवस्थामा सेतो पुतलीको संसर्गमा नआएका विरामीहरुमा समेत यो रोग देखापरेको मन्त्रालयले जनाएको छ । अन्य जीवाणु र विषाणुका कारणले पनि शापु रोग लागेको पाइएको चिकित्सकहरुले बताएका छन् ।

२०७८ सालमा विशेषगरी गुल्मीसहित आसपासका जिल्लाहरुमा शापु रोगको संक्रमण भएको थियो । यो रोग एक वर्ष विराएर फैलिने गरेको चिकित्सकहरुको भनाई छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस