१०५
Shares१६ साउन,२०८०। आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशमा अहिले मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित छ। महाशाखाले वर्षाका कारण जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडकमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ।