३३९
Sharesकाठमाडौं । नेपाल वायुसेवा निगमको एउटा वाइड बडी जहाज मलेशियामा शव लिन आज बेलुकी ११ बजे उड्ने भएको छ । निगमको उक्त जहाज भोलि शनिबार ८ः४० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले मलेसियामा रहेका ३७ मध्ये १७ शव ल्याउने जानकारी दिए । रोजगारका लागि मलेसिया गएका नेपालीहरु विभिन्न कारणले मृत्यु भएपछि उनीहरुको शव नेपाली दूतावासको समन्वयमा मलेसियामै राखिएको छ । सरकारले शव ल्याउन उचित बन्दोबस्ती नगर्दा लामो समयदेखि ती नेपालीहरुको शव परिवारले बुझ्न पाएका छैनन् ।
उनले निगमको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नै खर्चमा शव ल्याउन लागिएको प्रबन्ध निर्देशक पौडेलले बताए । खालि जहाज उडाएर मलेसिया पठाउन लागिएको हो । मलेसिया जाने जहाजले एकजना पनि यात्रुलाई बोक्ने छैन । कोरोनाकालमा मलेसिया जानेभन्दा पनि उताबाट यता आउनेको संख्या धेरै हुन्छ ।
विदेशमा गएका नेपालीहरुले पठाएको पैसा (रेमिट्यान्स) ले सरकारको अर्थतन्त्र चलेको छ । तर नेपालकै लागि आफ्नो ज्यान दिने ती मृतक नेपालीहरुको शव ल्याउन सरकारले चासो दिएको छैन ।