३८३
Sharesसितल सापकोटा
आजको दिन मलाई फेसबुक, टिकटक जस्ता सामाजिक संजाल चलाउनै मन लाग्दैन । सबैका आमाका तस्बिर र आमासँगै रमाएर मातातिर्थ औंसी मनाएका तस्विरले मन अमिलो बनाइदिन्छ । त्यसैले सकेसम्म सामाजिक संजालमा अरु दिनभन्दा आज म कमै क्रियाशिल हुन्छु । यो मेरो हरेक वर्षको पीडा हो ।
आजको दिन सबैले आमालाई भेट्नेछन् । मिठो मसिनो खुवाउँदै आमालाई गिफ्ट, तिर्थ वर्त गराउन लैजाने गर्छन् । तर, म यो वर्षको मातातिर्थलाई अलिक फरक बनाउने प्रयास गर्दैछु । कहिल्यै आकृति समेत नदेखिएकी मेरी आमालाई सम्झिएर म मेरा भावनाहरु लेख्ने प्रयास गदैछु । आमा… ! मैले यो शब्दलाई कहिल्यै सम्बोधन गर्न पाइन । आमा भनेर हृदयबाट कसैलाई बोलाउन सकिन । कति अभागी रहेछु । आमा शब्द आफैंमा कति गहन छ अनि कति महान पनि । एउटा व्यक्तिले आफ्नो जीवनबाट आमा गुमाउन पर्दाको पीडा कति हुन्छ त्यो सायद सबैको कल्पना भन्दा निकै बाहिर हुन्छ । आमा , मलाई तपाईको यादले कहिल्यै छोड्दैन । तर, आज मातातिर्थ औंसीको दिनमा झनै बढि नै याद आउँछ । सबैले आजको दिन आफ्नो आमाको लागि खर्च गरेका हुन्छन् । सकेसम्म सबैले आफ्नो आमालाई भेटेर आर्शिवाद लिने गर्छन् तर, मैले त तपाईको तस्विर अगाडी बस्न समेत पाउँदिन आमा । आज म संचारकर्ममा छु । धेरैका तस्बिर र भिडियोहरु कैद गर्ने गर्छु । आफ्नै आमाको एउटा तस्बिरसम्म मेरो साथमा नहुँदाको पीडाको आकार म यो लेखनीमा उर्तान सक्दिन ।
म ४ वर्षको हुँदा मैले मेरी आमालाई सदाको लागि गुमाए । त्यतिबेला त म बालपनमा थिएँ । त्यो पीडाले मलाई खासै छोएन पनि होला । अहिले जति उमेर बढ्दै गएको छ उति नै मलाई शुन्यता र अभिभावकत्वको कमि महशुस हुन्छ । आमा विनाको जीवन म भोगिरहेको छु । आमा नहुँदाको एक्लोपन अनि रङ्गहीन लाग्ने जीवन । मेरी आमाले मलाई तेस्रो सन्तानको रुपमा यस धार्तीमा जन्म दिनु भएको थियो । मलाई अझै सम्झना छ मेरी आमाको मृत शरीरलाई घरबाट निकालेको । मैले त्यसबेला साथीहरुलाई देखाउदै भनेको थिए मेरी आमा अब छिटै फर्केर अउनु हुन्छ । तर, अहिले पो बुझे त्यो दिन त मेरी आमा कहिल्यै नफर्किने गरी सदाको लागि पो जानुभएको रहेछ । धेरै दिन आमा आउने बाटो हेर्दाहेर्दा बिते । कहिल्यै आउनुभएन अनि पो मलाई आमा साँचिकै गुमाएु भने महशुस हुन थाल्यो ।
जब आमा गुमाएको महसुस गरे अनि मेरो जिवनमा दुखका दिनहरु सुरु भएको महशुस भयो । साँचैं आमा विनाको घर सुन्य नै हुन्छ । विश्वाश लाग्दैन मलाई मेरी आमा अब हामीसँग कहिले आउनुहुन् भनेर । अझैं मनमा झिनो आशा लाग्छ कतै आमा फर्किएर आइपो हाल्नु हुन्छ कि । जीवनसँग थाकेर हार मानि निराश भएको बेला आएर सुम्सुमाउँदै जीवनमा संघर्षबाट नहार्न प्रेरणा दिन आउनु हुन्छ कि भन्ने लागि रहन्छ । कसैले आमा भनेको शब्द सुन्दा र आमाले सन्तानलाई दिएको प्रेम देख्दा मलाई निकै लोभ लाग्छ । बाँचुन्जेल भौतिक सुख, सुविधा दिन सकिन् । आज मेरी आमा मसगैं भएको भए म कति खुसी र सुखी हुन्थे होला हजुरलाई मेरो आयु थपन सकिन् ।
आमा हजुर विना यो संसारमा न त खुलेर हाँस्न सकेको छु न त रुन नै । आमा हजुरको काखमा डाँको छाडेर रुन मन छ तर रुन समेत भाग्यमा चाहिँदो रहेछ । साचै आमा हुनेलाई भन्दा आमा गुमाउनेलाई आमाको महत्व बढि् नै हुदो रैछ । कहिले काहि मन हतास र निराश हुँदा आमाको तस्विर हुँदो हो त म पनि त्यहि तस्बिरसँगै रुने थिएँ भन्ने लाग्छ । मेरा साथीहरु भन्छन् – ‘आमाको मायामा जादु हुन्छ । आमाको काख र साथ स्वर्ग हो । मलाई त, तनाव भयो कि आमालाई फोन गर्दछु ।’ यो कुराले आफुलाई भने झनै पीडा थपिदिन्छ ।
अनि उनीहरुको अनुहारमा छचल्कने खुशी, आफूमा खोज्दछु तर पाउँदिन । आमासँगका तितामिठापलहरु मेरो सम्झनामा छैनन् । किनकी आमाको स्वर्गबास हुँदा म सानै थिएँ । आमा विनाको हरेक वर्षको मेरो मातातिर्थ औंसी फिक्का भएको छ अनि मुल्यहिन पनि । यद्यापि आमाले उपहार स्वरुप दिएर जानुभएको मेरो जीवन बाँकी छ । यो बाँकी जीवन आमाप्रति श्रद्धाभावका साथ समर्पित हुदै सकारात्मक तथा उर्जाशिल जीवन बनाउनु छ ।