१६८
Sharesसांसद राजेन्द्रप्रसाद पाण्डेले बुढीगण्डकी आयोजना तत्काल निर्माण सुरु गर्न सरकार निर्माण गर्न माग गर्नुभएको छ । उहाँले प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै आयोजना निर्माण सुरु गर्ने प्रतिज्ञा गर्न सरकारको नाममा रुलिङ गर्न सभामुखलाई पनि आग्रह गर्नुभएको हो।
गोरखा र धादिङको सीमानामा बुढीगण्डकी नदीमा बन्ने १२ सय मेगावाटको जलासययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन पनि स्वीकृत भइसकेको भन्दै उहाँले तत्काल निर्माण गर्न माग गर्नुभएको छ ।
उक्त आयोजना निर्माणका लागि २ खर्ब ६० अर्ब भए पुग्ने र सरकारले यही आयोजनाका लागि भनेर पेट्रोलियम पदार्थमार्फत १ खर्ब भन्दा बढी संकलन गरिसकेको पाण्डेले बताउनुभयो ।
‘सरकारले आयोजनाका लागि १ खर्ब ५ अर्ब रुपैयाँ तेलबाट कर उठाइसकेको छ । वार्षिक २५ अर्ब रुपैयाँ तेलबाट उठ्छ । २० प्रतिशत शेयर उठाउँदा करिब ५० अर्ब उठ्छ । निर्माण अवधिमा तेलबाटै २ खर्ब रुपैयाँ उठ्छ । वर्षमा २५ अर्बको स्रोत सुनिश्चित गर्दा यो आयोजना बन्छ’ उहाँले भन्नुभयो ।
यो आयोजनाको मुआब्जा वितरणमा सरकारले ४१ अर्ब रुपैयाँ खर्च गरिसकेको भन्दै उहाँले आयोजना निर्माण भएमा जलविद्युत, पर्यटन र माछापालनबाट लाखौं मान्छेले रोजगारी र व्यवसाय गर्न सक्ने बताउनुभयो ।