१२७
Sharesबागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।
शुक्रबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकबाट उहाँले विश्वासको मत लिन लाग्नुभएको हो ।
गत बुधवार विश्वासको मत लिने तयारी गरिएपनि नेपाली कांग्रेस सांसदहरु अनुपस्थित हुने भएपछि बैठक सारिएको थियो ।पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाबीच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिबार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।
यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाउनु भएको थियो । जसअनुसार एमाले, नेपाली कांग्रेससहित ६ राजनीतिक दलका १०५ जना सांसदसहितको उनले भारी मतसहित विश्वासको मत पाउनु भएको थियो । उहाँको विपक्षमा नेमकिपाका ३ जना सांसद मात्रै उभिएका थिए ।
११० जना सांसद रहेको प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ ।
प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, नेकपा (एकीकृत समाजवादी) का ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।