FLASH NEWS

भारतीय दूतावासद्वारा डायलासिस उपकरण हस्तान्तरण

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ फागुन ८, सोमबार (१ साल अघि)
  • ३८

    Shares

भारतीय दूतावासद्वारा डायलासिस उपकरण हस्तान्तरण

भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ ।

आज यहाँ आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पद्म गिरीलाई सो उपकरण हस्तान्तरण गर्नुभएको हो । राजदूत श्रीवास्तबले नेपाल सरकारले एक वर्षअघि माग गरेको मेसिन अहिले उपलब्ध गराएको बताउनुभयो । उहाँले उपलब्ध डायलासिस मेसिनले नेपालीलाई सहज उपचार सेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “यी मेसिनले नेपालको स्वास्थ्य संरचनाको पूर्वाधारमा सहयोग पुग्ने विश्वास दूतावासको छ । नेपाल र भारत सरकारको सहकार्यमा विकासका काम भइरहेका छन्, सोही क्रममा नेपाल भारतमैत्री ट्रमा अस्पताल, बिपी कोइराला अस्पताल र विभिन्न परियोजनाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोगको काम भइरहेको छ ।” उहाँका अनुसार सन् २००३ देखि साना परियोजनामार्फत भारत सरकारले नेपालमा सामुदायिक अस्पताल, स्वास्थ्य उपकरण र औषधि उपलब्ध गराउँदै आएको छ । उहाँले अहिले भारत सरकारले सिरहादेखि सिन्धुलीसम्म विभिन्न १० प्रकारका परियोजनामार्फत काम गरिरहेको बताउनुभयो ।

“भारत सरकारले नेपाल सरकारलाई विभिन्न समयमा नौ सय ५० एम्बुलेन्स उपलब्ध गराएको छ । छिटै थप एम्बुलेन्स उपलब्ध गराई एम्बुलेन्सको सङ्ख्या एक हजार पु¥याउनेछौँ”, उहाँले भन्नुभयो ।

मन्त्री गिरीले भारत सरकारबाट उपलब्ध भएको सहयोगप्रति आभार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “धेरै मिर्गौला बिरामीले समयमा डायलासिस सेवा पाउन सकेका छैनन् । भारत सरकारले उपलब्ध गराएको उपकरणलाई आवश्यक ठाउँमा पु¥याउँछौँ र यसले बिरामीलाई सहज उपचारमा सहयोग पुग्नेछ ।” उहाँले भारत सरकारले भूकम्पको समयमा र कोभिड–१९ महामारीको समयमा गरेको सहयोगको प्रशंसासमेत गर्नुभयो । “भारतको ‘छिमेकी प्राथमिकता नीति’ नेपालका लागि खुसीको कुरा हो, भारतीय सरकारको सहयोग निकै उल्लेखनीय छ”, उहाँले भन्नुभयो ।

दूतावासले दुई सय थानमध्ये कार्यक्रममा २० वटा उपकरण उपलब्ध गराएको हो । बाँकी उपकरण छिट्टै नेपाल भित्रिने दूतावासले जानकारी दिएको छ । उपलब्ध उपकरणलाई आवश्यकताअनुसार विभिन्न अस्पतालमा वितरण गरिने मन्त्रालयकी सचिव देविकुमारी गुरागाईंले जानकारी दिनुभयो । रासस

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस