FLASH NEWS

महाशिवरात्रिको दिन हिजो सात लाख भक्तजनद्वारा पशुपतिकाे मूल मन्दिरको दर्शन

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ फागुन ७, आईतबार (१ साल अघि)
  • ५२

    Shares

महाशिवरात्रिको दिन हिजो सात लाख भक्तजनद्वारा पशुपतिकाे मूल मन्दिरको दर्शन

महाशिवरात्रिका अवसरमा हिजो सात लाख भक्तजनले पशुपतिको मूल मन्दिरको दर्शन गरेका छन् । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीका  अनुसार हिजो मूल मन्दिरको सात लाख भक्तजनले दर्शन गरेका थिए । यस्तै, मन्दिर परिसरमा भने झण्डै १५ लाख भक्तजन पुगेका अनुमान गरिएको छ ।

पशुपतिनाथ मन्दिरको दर्शनका लागि हिजो बिहान ३ बजेदेखि नै लाइन लागेको थियो । दर्शनार्थीका लागि हिजो पाँच वटा लाइनको व्यवस्था गरिएको थियो ।  दर्शनार्थीले हिजो लामो लाइनमा बस्नु परेको गुनासो गरेका थिए । तर, पशुपति क्षेत्र विकास कोषले भने हिजो लाइन व्यवस्थित भएको दाबी गरेको छ ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले दर्शनार्थीको भिड बढ्दा लाइन लामो भएको बताउनुभयो । उहाँले दर्शनार्थीले सजिलै दर्शन गर्न पाएका दाबी गर्नु भएको छ । तर, दर्शनार्थीले हिजो दुई घण्टासम्म लाइन बस्नु परेको गुनासो गरेका थिए ।शिवरात्रिका अवसरमा दर्शनार्थीबाट १५ लाखभन्दा धेरै भेटी सङ्कलन भएको पनि अनुमान गरिएको छ । मन्दिरमा चढाइएको  भेटीको गणना आज हुनेछ ।  भक्तजनको सङ्ख्याकाे आधारमा १५ लाखभन्दा धेरै भेटी सङ्कलन भएको अनुमान गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । उहाँका अनुसार महाशिवरात्रिका अवसरमा पशुपति आएका साधु सन्तको बिदाइ भोलि गर्ने तयारी छ ।

भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ । साधुसन्तको स्तर वर्गीकरण गरेर पाँच सयदेखि आठ हजारसम्म दान दक्षिणा दिएर बिदाइ गर्ने तयारी छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलाई रङरोगन गरिएको थियो भने फूलमालाले सजाइएको थियो ।

यस्तै, पशुपति मन्दिर क्षेत्रको सरसफाइ आजैदेखि सुरु हुने कोषले जनाएको छ । उज्यालो

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस