३८६
Sharesधादिङमा डेंगुको संक्रमण घटेको छ । जाडो सुरु हुन थालेपछि डेंगुको संक्रमण घटेको हो।
अहिले मौसम चिसो भएको र लामुखुट्टे हुर्कने पानी जम्ने ठाउँ नभएपछि ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टे पनि हराउँदै गएकोले डेंगुको संक्रमण पनि कम हुदै गएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
साउन यता हालसम्म १ हजार ३५८ जना पुरुष र १ हजार १७८ महिला गरी संक्रमित हुनेको कुल संख्या २ हजार ५४३ पुगेको छ । पछिल्लो २४ घण्टामा नीलकण्ठ नगरपालिकाका ३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङको विवरणमा उल्लेख गरिएको छ।
विवरण अनुसार हालसम्म सबैभन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा १ हजार ५९०, बेनिघाट रोराङमा १३९, गल्छीमा १३२, गजुरीमा १२०, धुनिबेशीमा ९४,सिद्धलेकमा ८८ जनामा संक्रमण भएको छ।
यस्तै त्रिपुरासुन्दरीमा ८१ ,ज्वालामुखीमा ७९, गंगाजमुनामा ३४, थाक्रेमा १८,नेत्रावती डवजोङमा १५,रुवीभ्यालीमा १४ र खनियाबास गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।
विगत एक हप्तादेखि जिल्लामा संक्रमण घट्दै गएको छ । जाडो बढेसँगै डेंगुको संक्रमण गराउने लामुखुट्टेको सक्रियता कम भएको, मानिसले पनि बाक्लो हातखुट्टा छोपिने कपडा लगाउने गरेकोले डेंगुका बिरामी घटेको चिकित्सकले बताउनु भएको छ ।