५०
Sharesसरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै झापाका किसानले खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडको बिर्तामोडस्थित शाखा कार्यालयमा तालाबन्दी गरेका छन् ।
प्रहरीको हस्तक्षेपका बीच किसानहरूले अखिल नेपाल किसान महासङ्घ झापा र नेपाल किसान महासङ्घको संयुक्त आह्वानमा आज बिर्तामोडस्थित खाद्य कार्यालयमा तालाबन्दी गरेका हुन् ।
सरकारले तोकेको मूल्यमा धान खरिद नभइरहेको भन्दै किसानहरूले तत्काल समर्थन मूल्यमा धान खरिद गर्नुपर्ने माग गरेका थिए ।
अखिल नेपाल किसान महासङ्घका राष्ट्रिय समिति उपाध्यक्ष बेनु सिवाकोटीले व्यापारीले मनपरी मूल्यमा किसानबाट धान खरिद गरिरहेको गुनासो गर्नुभयो ।
सरकारले मोटा धान प्रति मन ११८६ र मध्यम धान १२५१ रुपैयाँ तोकेको छ । तर, व्यापारीहरूले आफूखुसी ९ सयदेखि १ हजारसम्म प्रतिमनमा धान खरिद गरिरहेको किसानको गुनासो छ ।
जिल्लाभरबाट तालाबन्दी कार्यक्रममा प्रतिनिधिमूलक रुपमा सहभागी भएका किसानलाई प्रहरीले तालाबन्दी गर्न रोक्न खोजेको थियो ।