५४२
Sharesआज असोज ३ गते अर्थात संविधान दिवस । संविधान जारी भएको आज सात वर्ष पुराभएको छ ।२०७२ असोज ३ गते आजैको दिन संविधान जारी भएको थियो । संविधान दिवसको अवसरमा आज धादिङ सहित देश भर विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ।
यसवर्षको संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ।
तीन दिन दिवस मनाउन हिजो आइतबार देखि नै विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
तर, यस्ता कार्यक्रमले नागरिकको दैनिकीमा भने खासै प्रभाव पार्न सकेको छैन । संविधान जारी भए पछि देशमा विकास र समृद्धि आउने आशा र अपेक्षा गरिए पनि त्यस अनुसारको काम हुन सकेको छैन ।
राजनीतिक प्रणाली फेरिए पनि शासकको प्रवृत्ति फेरिन नसक्दा नागरिकलाई दुःख र सास्ती अझै पनि उस्तै नै छ । संविधानमा नागरिकका लागि ३१ वटा मौलिक हकको व्यवस्था गरिएको छ । तिनको कार्यान्वयन तीन वर्षभित्र कानुन बनाएर गरिने उल्लेख छ ।
निश्चित समय सीमाभित्र कानुन बनाइ सक्नुपर्ने बाध्यकारी संवैधानिक व्यवस्थाका कारण मौलिक हकसम्बन्धी १७ वटा ऐन बनेकै चार वर्ष पुगेको छ । तर, संविधानले दिएको निःशुल्क शिक्षा, रोजगारी, स्वास्थ्य सेवा, खाद्य सम्प्रभुता, आवासलगायत दर्जनौँ आधारभूत हकहरूको अनुभूति आमनागरिकले अहिलेसम्म पनि गर्न पाएका छैनन् । मौलिक हकका धारा संविधानमा मात्रै सीमित भएको छ । संविधान दिवसको दिन आज सरकारले सार्वजनिक बिदा दिइएको छ ।