७५१
Sharesग्रामीण भेगमा पालिने दुधालु गाईभैंसीमा पर्याप्त सन्तुलित आहाराको अभाव र रेखदेखको कमीले दुध उत्पादन घट्नुका साथै छोटो अवधिमा दुध सुक्छ । दुधालु गाईभैंसीलाई सन्तुलित आहारा व्यवस्थापन गर्न सके लामो समयसम्म दूध उत्पादन लिन सकिन्छ ।
लामो समयसम्म दुधालुपना कायम राख्न ग्रामीण भेगमा स्थानीय स्तरमा पाइने तोरीको पिना १२% सम्म आहारामा मिसाएर दुधालु गाईभैंसीलाई खुवाउँदा दुधको मात्रा १५% सम्म बढाउन सकिन्छ । परिचय गाईभैंसीको दुध हाम्रो शरीरका हाडमासु निर्माणका लागि चाहिने प्रोटिन जस्ता खाद्यतत्त्वले बनेको हुन्छ ।
दुधालु गाईभैंसीले दुध निर्माण गर्दा उनीहरूको शरीरमा रहेका मूलतः प्रोटिन खर्च हुन्छ । त्यो दुधमा रहेको प्रोटिन हामीले दुहेर लिन्छौं । दुधालु गाईभैंसीको शरीरमा प्रोटिनको निर्माण उसले खाने आहारा, घाँसपात, पानी, लवण, खनिजतत्त्व भिटामिनबाट नै प्राप्त गर्ने हो ।
तसर्थ, बढी र लामो समयसम्म दुधालु गाईभैंसीबाट दुध प्राप्त गर्नका लागि आहारामा प्रशस्त प्रोटिनयुक्त खुराक हुनु जरुरी हुन्छ । विशेष गरी, सुक्खा याममा घाँसपात नपाइने भएकाले दुधालु गाईभैंसीलाई सन्तुलित र प्रोटिनयुक्त आहारा (तोरीको पिना) व्यवस्थापन गरी दुधको मात्रा र दुध दिने समयावधि लम्ब्याउन सकिन्छ ।
अनुसन्धानबाट प्राप्त नतिजा दुध दिदै गरेका २५ वटा गाईहरूमा धानको ढुटो र गहुँको चोकरमा स्थानीय स्तरमा पाइने तोरीको पिना आहारामा मिसाएर तोरीको पिनाले १२ प्रतिशत प्रतिस्थापन गरी ३० दिनसम्म दुध उत्पादनमा फरक हेरिएको थियो ।
प्रयोगशालामा परीक्षण गर्दा विभिन्न दानाहरूमा पाइएको पोषण तत्त्व यस प्रकार रहेको थियो ।
तालिका १: दानामा रहेको रासायनिक पदार्थको संरचना र मात्रा (प्रतिशतमा)
पोषण तत्व र दाना | तोरीको पिना | गहुँको चोकर | धानको ढुटो |
सुक्खा पदार्थ | ८८.५२ | ८८.३२ | ८८.९३ |
अर्गानिक पदार्थ | ९३.९ | ९२.९ | ९१.४२ |
इथर | १.८९ | २.११ | २.६१ |
कच्चा प्रोटिन | ३८.११ | ११.५५ | १०.४९ |
खरानी | ५.०१ | ६.२० | ७.१० |
घुलनशील पदार्थ | २२.३२ | २८.९९ | २९.९१ |
अम्ल घुलनशील पदार्थ | २१.६३ | १५.३४ | १९.१२ |
धानको दटो र गहुँको चोकर ५०-५० प्रतिशतको दानामा तोरीको पिनाले १२ प्रतिशतसम्म प्रतिस्थापन गर्दा दुध उत्पादन तथ्याङ्कीय हिसाबले वृद्धि भएको देखिन्छ भने घृतांश प्रतिशतमा कुनै फरक नपरेको देखियो।
तालिका २: औसत दुध उत्पादन र घृतांश दानाको किसिम
दानाको किसिम | औसत दुध उत्पादन (लिटर) | घृतांश % |
धानको ढुटो+गहुँको चोकर | ८.१५+०.५१ | ३.७५+०५१ |
तोरीको पिनाले १२ % ले प्रतिस्थापन गर्दा | १०.१३+०.६८ | ३.८७+०.५५ |
सम्भाव्यता मापन | <००१ | >००१ |
दुध दिदै गरेको गाईभैंसीलाई प्रोटिनयुक्त आहाराको रूपमा तोरीको पिना खुवाउँदा १५ प्रतिशत दुध उत्पादन बढ्ने भएकाले किसानको आय आर्जनमा वृद्धि हुन्छ ।
एउटा सरदर २० लिटर दुध दिने गाईको १५ प्रतिशतले दैनिक बढी दुध उत्पादन दिँदा वार्षिक २०० दिनको हिसाब गर्दा प्रतिलिटर ५० को दरले रू ३०००० आम्दानी बढ्न सक्दछ । जसमा प्रति केजी पिना ५० प्रतिशतका दरले हिसाब गर्दा र दैनिक डेढ के. जी. खुवाउँदा रु १५००० हजार पर्न जान्छ ।
यसरी २०० दिनमा प्रति गाई रू १५००० खुद फाइदा हुन जान्छ । यसरी १० ओटा गाई पाल्ने किसानले प्रत्येक बेतमा कम्तीमा डेढ लाखसम्म खुद फाइदा लिन सक्ने देखिन्छ ।
तोरीको पिना प्रयोग गर्ने तरिका
सामान्यतया, तोरीको पिना गाईभैंसीलाई बिहान र साँझ कँडोका साथमा दैनिक दानाको १२ प्रतिशतको दरले हुन आउने मात्रामा मिसाई खुवाउनुपर्दछ ।
कुँडो बनाउनका लागि सफा किटको कराही वा ताउलो जस्ता भाँडामा गाईभैंसीको शारीरिक तौलको आधारमा ५ देखि ८ लिटर पानी तताउने र प्रति दुधालु जनावर धानको ढुटो र गहुँको चोकर १.५ केजीका दरले मिसाउने र हलुका भुटेको आधा केजी तोरीको पिना मिसाई राम्ररी पकाउनुपर्दछ ।
पाकिसकेपछि त्यसमा थप पानी मिसाई गाईभैंसीलाई खुवाउनुपर्दछ ।
लेखक : भोजन ढकाल, डा. मेघराज तिवारी, डा. राम बहादुर राना, वीरेन्द्र खनाल र डा. टेक बहादुर गुरुङ राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान, खुमलटार, ललितपुर
स्रोत : राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र, नार्क