७७
Sharesलोकतन्त्र स्थापना भएको उपलक्ष्यमा जनताले उत्सब मनाउदै गरेको फाइल तस्विर
काठमाडौं: नेकपा (एमाले)ले आज लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रम गर्दैछ । जनताले जितेको दिन युवालाई लोकतन्त्र ल्याउनका लागि भएको बलिदान र यसको महत्वबारे जानकारी दिन युथ सेलिब्रेशन विशेष कार्यक्रम गर्न लागिएको एमालेले जनाएको छ । कार्यक्रम काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।
कार्यक्रममा पार्टीका ४० वर्ष मुनिका देशभरका करिब १ लाख युवाहरूले सहभागिता जनाउने बताइएको छ । कार्यक्रमलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने छ । कार्यक्रममा विभिन्न कलाकारहरुले सांगितिक प्रस्तुति समेत दिनेछन् ।
एमाले जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालले लोकतन्त्र दिवसको अवसरमा पार्टीले आयोजना गर्न लागेको युवा सेलिब्रेशन कुनै प्रदर्शन नभई नेपाली जनताले जितेको दिनलाई उत्सवको रूपमा मनाउन लागिएको स्पष्ट पार्नु भयो ।
‘आन्दोलनबाट प्राप्त भएका उपलब्धिलाई नयाँ पुस्ताले आत्मसाथ गर्ने, त्यसका पक्षका बारे जानकारी लिने तथा समृद्ध नेपाल, सुखी नेपाली बनाउने सन्दर्भमा युवाको सोच र जाँगरलाई कसरी अहिलेको अवस्थामा स्थान दिन सकिन्छ, देश रूपान्तरणमा युवालाई कसरी संलग्न गराउन सकिन्छ भन्ने विषयमा बहस गर्न र भावी नेतृत्वको रूपमा युवालाई विकास गर्नका निम्ति देशभरिबाट युवाको प्रतिनिधित्व गराएर कार्यक्रम गर्न लागेका छौँ,’ ढकालले भन्नु भयो ।
०६२/६३ को जनआन्दोलनपछि जन्मिएका वा हुर्केका युवा पुस्तालाई देशले भोगेका राजनीतिक उतारचढावहरूबारे जानकारी दिनु र लोकतान्त्रिक विधिप्रति प्रतिबद्ध गराउनु कार्यक्रमको लक्ष्य रहेको बताइएको छ ।
आजको कार्यक्रममा सहभागी हुन देशका विभिन्न जिल्लाबाट युवाहरू काठमाडौं आउनेक्रम जारी रहेको छ ।