७८
Sharesकाठमाडौं : सरकारले आन्दोलनरत शिक्षक महासंघसँगको वार्ता निष्कर्षनजिक पुगेको दाबी गर्नु भएको छ । सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले सहमति भने हुन नसकेको सरकारले जनाएको हो।
सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गर्नु भएको थियो भने महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो। वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिए। ‘केही विषय टुङ्गो लगाउन बाँकी छ। वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ’, उहाले भन्नु भयो ।
उहाले महासंघसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले यथाशीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने जानकारी दिनु भयो ।
महासंघका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताउनु भयो । उहाले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन स्थगित गर्ने बताउनु भयो।
मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासङ्घसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो। मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्म शिक्षक आन्दोलनको माग सम्बोधन हुने बताउनु भएको थियो।
विद्यालय शिक्षा ऐनलगायत माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि राजधानी काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएका छन्।