FLASH NEWS

आमा, एक फेर मेरो लागि भएपनि तिमी फर्केर छोरा भनी दिन सक्छ्यौ ?

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ बैशाख १४, आईतबार (१८ घण्टा अघि)
  • ६१

    Shares

आमा, एक फेर मेरो लागि भएपनि तिमी फर्केर छोरा भनी दिन सक्छ्यौ ?

आज आमाको मुख हेर्ने दिन रे
तर आमा, म त भित्ताको फोटो हेरेर रोइरहेछु
त्यो मुस्कान अनि सधैँ मलाई कान्छा भनेर बोलाउने ती शब्दहरू
सधैँको लागि बन्द भएको छ ।

आमा तिमी थियौ त म छोरो थिएँ,
अब म ठूला मानिस जस्तो देखिए पनि
भित्र भित्रै तिमी खोजिरहेको बालक हुँ
तिमी नबोल्दा, संसार नै बुझेको जस्तो लाग्दैन
तिमी भन्थ्यौ छोरा गाह्रो परे पनि मुस्कुराउनु
तर आज, आमा म मुस्कुराउन सक्दिनँ
तिमीबिना यो अनुहार अँध्यारो लाग्छ।

आमा तिमी बिना टुहुरो भएको छु
घर परिवार आफन्त नाता गोता
अनि समाज बाटै एक्लो भएको छु
तर आमा, एक फेर मेरो लागि भएपनि
तिमी फर्केर “छोरा” भनि दिन सक्छ्यौ ?
घर पुग्ने बित्तिकै गाह्रो भयो होला भन्ने ति शब्द
आफु नखाएर नि राखिदिएको ति खानेकुरा
बिसन्चो हुदा सिरानीको छेउमा आएर
औसधि  खुवाउँदै मुसारेको ति स्पर्श भुलेको छैन
तर आमा, एक फेर मेरो लागि भएपनि
तिमी फर्केर “छोरा” भनि दिन सक्छ्यौ ?

तिमीले पकाएको त्यो परिकार
तिमीले राखेको सिरानी
तिमीले सिउरेको त्यो टोपी सबै छन् अझै,तर तिमी छैनौ त्यो तातो हातको स्पर्श छैन

मलाई थाहा छ आमा
आकाशको कुनातिर छौ होलि
तिमी, शायद जून बनेर चम्किरहेकी छ्यौ,शायद हावा बनेर मुटु छोइरहेकी छ्यौ
तर आमा, एक फेर मेरो लागि भएपनि तिमी फर्केर “छोरा” भनी दिन सक्छ्यौ ?

आज आमाको मुख हेर्ने दिन हो र म,
शिर ठाडो पारेर , आँसु लुकाउँदै, आकाशमा खोजिरहेको छु त्यो अनुहार जसले मेरो सम्पूर्ण जीवन अर्थ दिएको थियो।

आमा तिमीले सिकाएका संस्कार कहिल्यै भुल्ने छैन तिमीले दिएको अर्ति कहिल्यै बिर्सने छैन तर आमा, एक फेर मेरो लागि भएपनि तिमी फर्केर “छोरा” भनी दिन सक्छ्यौ ?

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस