६६
Sharesधादिङ: धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर २ औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । शनिबार विशेष समारोहको आयोजना गर्दै वडालाई जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीले बालमैत्री वडाको घोषणा गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका अधिकारीले बालबालिका प्रतिको बृहत्तर जिम्मेवारी निर्वाह गर्ने अभियान स्वरुप बालमैत्री स्थानिय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानिय शासन घोषणा कायविधी २०७९ ले निर्दिष्ट गरेका ५१ वटा सुचक र तहगत चरणहरु पुरा गरेकाले वडा नम्बर २ लाई बालमैत्री वडाको घोषणा गरिएको बताउनुभएको छ ।
यस्तै गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले बालबालिकाको उज्ज्वल भविष्यका लागि गाउँपालिकाले दीर्घकालीन रणनीति तयार गरी बालमैत्री वडाहरू निर्माण गर्दै आएको भन्दै यसअघि वडा नम्बर १ लाई बालमैत्री वडा घोषणा गरिएको बताउनुभएको छ ।
यस्तै गाउँपालिकाका उपाध्यक्ष भाईकाजी तिवारीले पालिकाले बाल संरक्षण, विकास, सहभागिता, संस्थागत संरचना सुदृढीकरणलगायत क्षेत्रमा विशेष लगानी गरेको भन्दै क्रमिक रुपमा अन्य वडाहरुलाई पनि बालमैत्री वडा घोषणा गरिने बताउनुभएको छ ।
वडा अध्यक्ष षडानन्द खनालले प्रतिवेदन प्रस्तुत गर्दै पछिल्लो तीन वर्षदेखि गल्छी गाउँपालिकाले बालमैत्री शासन अन्तर्गत पूर्व तयारी गर्दै गुरु योजना बनाई विभिन्न कार्यक्रम सञ्चालन गरेको र यसै कारण वडा नम्बर २ बालमैत्री शासनयुक्त वडा बन्न सफल भएको बताउनुभएको छ । उहाँका अनुसार बालमैत्री घोषणा प्रक्रिया अन्तर्गत जिल्ला अनुगमन समितिले स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गरेको र सोहि आधारमा बालमैत्री वडा घोषणा गरिएको हो ।
औपचारिक कार्यक्रम अघि वडा कार्यालय परिसरमा बालबालिकाहरूले बालअधिकार सुनिश्चितताको नारा लगाउँदै र्याली निकालेका थिए ।
समारोहमा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी, गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा र उपाध्यक्ष भाईकाजी तिवारीले वडा नम्बर २ का अध्यक्ष खनाललाई बालमैत्री स्थानीय शासनयुक्त वडाको प्रमाणपत्र प्रदान गर्नुभएको छ । कार्यक्रममा उपस्थित सबै सहभागीहरूले बालअधिकारप्रति पूर्ण प्रतिबद्धता जनाउँदै सामूहिक हस्ताक्षर गरेका छन् ।
विशेष समारोहमा प्रमुख जिल्ला अधिकारी, जिल्ला जनश्वास्थ्य प्रमुख, पत्रकार महासँघ जिल्ला शाखाका अध्यक्ष लगायत वडा अध्यक्षहरु, कर्मचारी, राजनैतिक दलका प्रतिनिधी, विभिन्न सँघसँस्थाका प्रतिनिधीहरु लगायतको पनि आतित्थ्यता रहेको थियो । यस अघि चैत्र २० मा गल्छी गाउँपालिका वडा नम्बर १ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको थियो ।