७४
Sharesकाठमाडौं: इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन् ।
हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान-प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ ।
यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यो पर्वलाई ईद-उल-फित्र भनिएको हो ।
अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईद-उल-फित्र मनाउने कार्यक्रम तय हुन्छ । रमजान महिनाभर सूर्योदयदेखि सूर्यास्तसम्म पानीसम्म पनि नपिई बसिने व्रत सकाउँदै एक अर्कामा खुसीयाली बाँडि इद मनाउने गरिन्छ ।
ईदमा अल्लाहका नाममा विशेष नमाज पढ्ने परम्परा छ । ईदका दिन मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रोत्साहन गरिन्छ ।
धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र खजुर लगायतका मिष्ठान्न परिकार बनाएर खाने र खुवाउने चलन चल्दै आएको छ ।
यसैबीच सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।