FLASH NEWS

देशमा केही भएको छैन भनि गरिएको भ्रमको पछि लाग्नु हुन्न : शंकर पोखरेल 

  • टोलटोलको खबर
  • नेकपा एमाले
  • प्रकाशित मिति:
  • २०८१ चैत्र १०, आईतबार (१ हप्ता अघि)
  • १०९

    Shares

देशमा केही भएको छैन भनि गरिएको भ्रमको पछि लाग्नु हुन्न : शंकर पोखरेल 

विराटनगर :  नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने बताउनुभएको छ ।
आइतबार प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको विराटनगरमा उद्घाटन गर्दै महासचिव पोखरेलले हिजो देश कहाँ थियो र आज कहाँ छ भन्ने कुरा विश्लेषण नगरी लोकतन्त्र आएपछि देशमा केही भएको छैन भनि गरिएको भ्रमको पछि लाग्नु नहुने बताउनुभयो ।
पोखरेलले वर्तमान सरकार सरकार चलाउनको लागि मात्र नबनेको बताउनुभयो । लोकतान्त्रिक प्रणाली माथि नै चुनौती उत्पन्न भएको कारण देशका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार बनाएको उहाँले स्पष्ट पार्नुभयो । ‘कांग्रेस र एमाले पहिलो पटक मिलेका होइनन्, जब देशलाई संकट पर्छ, तब कांग्रेस र एमाले मिल्ने गर्दछन्’, पोखरेलले भन्नुभयो ।
पोखरेलले माओवादीको सशस्त्र द्वन्द्वको निशान राजा नभएर कांग्रेस र एमाले भएका पोखरेलले बताउनुभयो। माओवादीलाई सशस्त्र द्वन्द्वको बेला कसले पालन पोषण गरेका थिए भन्ने कुरा प्रमाणित हुँदै गएको उहाँले बताउनुभयो । राजवादी र भारतीयहरू माओवादीलाई हामीले संरक्षण गरेका थियौँ भन्दै हिँड्न लागेको पोखरेलले सुनाउनुभयो ।
आज राजावदीहरुले लोकतन्त्रमा देश विकासको कुनै काम हुन सकेन भनेर भ्रम फिँजाइरहेका बताउँदै पोखरेलले राजाको पालामा भएको विकास र लोकतन्त्रमा राजनीतिक दलले शासन गर्दा भएका विकास तुलना गरेर हेर्न आग्रह गर्नुभयो । पोखरेलले कुतर्क गरेर जनतालाई भ्रम फिँजाउने कुचेष्टा नगर्न राजावादीहरूलाई चेतावनी दिनुभयो । ‘लोकतन्त्रले के दियो, गणतन्त्रले के दियो भन्ने कुरा तथ्यका आधारमा विश्लेषण गरेर हेर्नुपर्दछ’, पोखरेलले भन्नुभयो ।
आज जुन हिसाबले सामाजिक सञ्जाल मार्फत सामाजिक अराजकता मच्चाइँदै छ त्यसको पछि लाग्ने हो भने लोकतन्त्र नै जोखिममा पर्ने उहाँले बताउनुभयो । लोकतन्त्रमा प्रेस स्वतन्त्रतामा कुनै बन्देज नलाग्ने भए पनि सामाजिक अराजकतालाई भने रोक्नु पर्नेमा उहाँले जोड दिनुभयो । ‘समाजलाई जहिले पनि अस्थिरतामा रुमलेर यो समाज अगाडि बढ्न सक्दैन’, उहाँले भन्नुभयो ।
नेपालमा राजतन्त्र ब्युँताउने कुरा किमार्थ सम्भव नरहेको उहाँले बताउनुभयो । संगठित शक्तिहरूले लामो तयारी गरेर राजाको पक्षमा प्रदर्शन गरेको भए पनि त्यसले गणतन्त्र उल्टाउने कुरा सम्भव नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
नेपालको अहिलेको संविधान संशोधन गरिने बताउँदै उहाँले त्यसको लागि दुई दलले आवश्यक वातावरण बनाउने काम गरिरहेका बताउनुभयो । अहिले दुईवटा पार्टी संयन्त्र बनाएर संविधान संशोधन गरी स्थायित्व कायम गरेर अघि बढ्ने पोखरेलले स्पष्ट पार्नुभयो ।
सञ्चार क्षेत्रले तथ्य र सत्यमा विश्वास गर्नुपर्ने पोखरेलले बताउनुभयो । सञ्चारकर्मीले सत्य र तथ्यलाई स्थापित गर्नु पर्ने बताउँदै सञ्चार क्षेत्र हावाको भरमा चल्नु नहुने स्पष्ट पार्नुभयो । सञ्चार क्षेत्रले र अव विकास र समृद्धिको एजेण्डा लिएर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । अब सञ्चार क्षेत्रको मिसन पनि बदलिनु पर्ने पोखरेलको धारणा छ ।
मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा देशभरका झण्डै १ हजार पत्रकारहरू भेला भएका छन् ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस