६९
Sharesकाठमाडौं : ने पालमा आमनिर्वाचन प्रारम्भ भई नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको सम्झनामा आज बुधबार निर्वाचन दिवस मनाइँदैछ। ‘निर्वाचनको प्रभावकारिता आमनागरिकको सहभागिता’ मूल नाराका साथ नवौँ निर्वाचन दिवस मनाउन लागिएको हो।
मुलुकमा प्रजातन्त्र स्थापनाको आठ वर्षपछि २०१५ फागुन ७ गते आमनिर्वाचन भएको थियो।
संवैधानिक अङ्गका रूपमा रहेको निर्वाचन आयोगले स्थानीय तहदेखि राष्ट्रपतिसम्मको निर्वाचन गराउँदै आएको छ। आयोगले वर्तमान संविधान जारी भएपछि दुई पटक प्रतिनिधिसभा तथा प्रदेशसभा र स्थानीय तहको आवधिक निर्वाचन, तीन पटक राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभा सदस्यको विभिन्न निर्वाचन र उपनिर्वाचन सम्पन्न गरिसकेको छ।
उक्त निर्वाचनमार्फत् जनप्रतिनिधि निर्वाचित भई जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक सङ्घीय शासन प्रणालीको सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह भइरहेको छ। इतिहासका सबै कालखण्ड र राजनीतिक परिवर्तनका हरेक नयाँ उपलब्धिमा मुलुकले अङ्गीकार गरेको शासन व्यवस्था र निर्वाचन प्रणालीलाई संविधान र कानूनबमोजिम निर्वाचनको माध्यमबाट वैधानिकता प्रदान गर्ने संवैधानिक दायित्व पूरा गर्दै आइरहेको छ।
दिवसका अवसरमा शुभकामना दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक एवं कानूनी दायित्व पूरा गर्न आयोग थप क्रियाशील हुनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
निर्वाचन दिवसका अवसरमा आयोगले बुधबार कान्तिपथस्थित आयोग परिसरमा मूल समारोह आयोजना गर्दैछ।