१७६
Sharesधादिङ : धादिङको धुनिवेशी नगरपालिकामा पाठेघर क्यान्सर विरुद्धको एचपिभि खोप अभियान सुरु भएको छ । धुनिवेशी नगरपालिका वडा नम्बर ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा नगररप्रमुख बालकृष्ण आचार्यले स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गर्दै अभियानको सुरुवात गर्नुभएको हो ।
अभियानको सुरुवात गर्दै नगरप्रमुख आचार्यले खोप सुरक्षित रहेकाले ढुक्कसाथ लगाउन किशोरीहरुलाई अनुरोध गर्नुभएको छ । यस्तै जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झाले खोपको बारेमा सामाजिक सञ्जाल लगायतमा केहि अफवाह फैलाईएको भन्दै त्यसको पछि नलाग्न अनुरोध गर्दै यो खोप प्रमाणित खोप रहेको बताउनुभयो । यस्तै नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख धुर्वकुमार अधिकारीले खोप अभियानमा सहभागी हुन सबै किशोरीहरुलाई सहभागी हुनको लागि आग्रह गर्नुभएको छ ।
नगरपालिकामा कक्षा ६ देखि १० सम्म अध्ययनरत १०५९ छात्रा र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका २५ जना बालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।
दोस्रो चरणमा फागुन १ गते आजदेखी ५ गतेसम्म धुनिवेशी नगरपालिका सहित थाक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङ गाउँपालिकामा खोप अभियान संचालन भएको जनस्वास्थ्य कार्यालय धादिङका खोप सुपरभाइजर निरीक्षक श्याम प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
यसअघि धादिङमा पहिलो चरणको पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सम्पन्न भईसकेको छ । माघ २२ देखि सुरु भएको पहिलो चरणको खोप अभियान अन्तरगत ७ हजार ७८० किशोरीहरुलाई खोप लगाइएको जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप लगाउन अभियान सुरु गरिएको जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झाले बताउनुभयो ।