यस वर्ष (२०८१)को अन्तर्राष्ट्रिय सालक दिवस धादिङको भैरवी मन्दिर परिसरमा मनाउने निर्णय भएको छ।
डिभिजन वन कार्यालय धादिङको संयोजन र भैरवी मन्दिर गुठी व्यवस्थापन समितिको सहभागितामा फाल्गुन ३ गते विशेष कार्यक्रमसहित मनाउने निर्णय भएको जनाइएको छ।
शनिबार सम्पन्न बैठकमा भैरवी गुठी व्यवस्थापन समितिका अध्यक्ष तिलक बहादुर राना, प्रमुख अतिथि डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्य र विशेष अतिथि नीलकण्ठ बहुमुखी क्याम्पसका प्राध्यापक नवीन बन्ध्यु पहाडीको उपस्थिति रहेको बैठकले उक्त निर्णय गरेको हो। बैठकले फाल्गुन ३ गते (फेब्रुअरी महिनाको तेस्रो शनिबार) सालक दिवसको अवसरमा सालकको मूर्ति भैरवी मन्दिर गुठी व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने निर्णय गरेको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो।
आचार्यका अनुसार, अन्तर्राष्ट्रिय सालक दिवस मनाउन धादिङबेशीबाट भैरवी मन्दिरसम्म पदयात्रा आयोजनाको निर्णय गरिएको छ। विषेश गरी धादिङ जिल्लाका युवा विद्यार्थीहरुलाई उच्च प्राथमिकता दिएर सालक संरक्षणमा जोड्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ । सो क्रममा विविध सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिने छन्।
गुठी व्यवस्थापन समितिले स्थानीय संघसंस्था र समुदायलाई कार्यक्रममा आमन्त्रण गर्नेछ भने डिभिजन वन कार्यालयले जिल्लास्तरीय संघसंस्था र सरकारी कार्यालयहरूलाई संयोजन गरी आमन्त्रण गर्ने योजना बनाएको छ। सालकको संरक्षण र वन्यजन्तुहरूको अस्तित्व सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गर्दै, स्थानीय समुदायलाई सक्रिय रूपमा संरक्षण कार्यमा संलग्न गराउन डिभिजन वन कार्यालय धादिङका प्रमुख आचार्यले आग्रह गर्नुभयो।