८०
Sharesलाकुरीभज्याङ,नुवाकोट: नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं ३ को वडा कार्यालयमा बिहीबार वडाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको लागि बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
अभिमुखिकरण कार्यक्रम वडाका वडा अध्यक्ष रामबाबु पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो । अभिमुखिकरण पछि १५ सदस्यीय वडा स्तरीय बालमैत्री स्थानीय शासन समिति समेत गठन गरिएको छ।
अभिमुखीकरण कार्यक्रममा वडा सदस्यहरु, बालक्लबका प्रतिनिधि, शिक्षक, महिला समूह, महिला स्वयंसेविकालगायत ७० जना सहभागी थिए। प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक सहजकर्ता दामोदर अर्यालले बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिकामा लगानी, बालमैत्री स्थानीय शासन वडास्तरीय संरचना र ५१ सूचकहरूको विषयमा सहजीकरण गर्नु भएको थियो।
यसका साथै बुधबार बालमैत्री स्थानीय पालिका स्तरीय समितिको पहिलो बैठक गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङको अध्यक्षतामा पञ्चकन्या गाउँपालिकाको कार्यालय लाकुरीभज्याङमा सम्पन्न भएको थियो। बैठकमा उपाध्यक्ष विमला केसी, प्रमुख प्रशासकीय अधिकृत, सबै वडाध्यक्षहरू, विषयगत शाखाका प्रमुखहरू, बालक्लब सञ्जालका प्रतिनिधिहरू, र गैरसरकारी संस्था प्रतिनिधिहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।
बैठकले बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणा सम्बन्धी कार्ययोजना पारित गरेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका अधिकृत कविता भट्टले जानकारी दिनुभयो।