११३
Sharesधादिङ: धादिङको थाक्रे २ सिम्लेमा मँगलबार गाउँपालिका अध्यक्ष सँग बालबालिका कार्यक्रम गरिएको छ । विश्व बाल दिवसको सन्दर्भमा एकिकृत सामुदायिक विकास अभियान नेपाल (ICDC)द्धारा सञ्चालित स्थानिय अधिकार कार्यक्रम अन्तर्गत कृषि रेडियो र रेडियो राजमार्गको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो ।
गाउँपालिका अध्यक्ष रामकुमार आचार्य प्रमुख जवाफदेही बक्ताको रुपमा रहनुभएको कार्यक्रममा बालअधिकार, बालसँरक्षण, बाल सहभागिता, बालमैत्री स्थानिय शासन, गुनासो सुनुवाई सँयन्त्र लगायतको सवालमा बालबालिकाहरुले प्रश्न गरेका छन् । बालबालिकाले सोधेका प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष आचार्य सँगै शिक्षा अधिकृत दुर्गादेवी खड्का र महिला तथा बालविकास शाखाका प्रमुख कमला पन्थीले दिनुभएको थियो ।
प्रश्नोत्तर कार्यक्रम अघि स्थानिय अधिकार कार्यक्रम परियोजनाका कार्यक्रम सँयोजक रमेश अधिकारीले कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले यो परियोजना शिक्षा, जिविकोपार्जन लगायतको क्षेत्रमा केन्द्रित रहेको बताउनुभयो । थाक्रेमा सन् २०२२ को अक्टोबर देखी उक्त परियोजना सञ्चालनमा रहेको छ ।
यस्तै कार्यक्रमको अध्यक्षता गर्नुभएका एकिकृत सामुदायिक विकास अभियान नेपालका कार्यक्रम व्यवस्थापक विनोद रिजालले बालबालिकाको क्षेत्रमा सँस्थाले नियमित काम गरिरहेको र विभिन्न योजनाहरु कार्यान्वयन गर्दै लैजाने बताउनुभएको छ ।
पत्रकार तथा सञ्चारकर्मी आशिष ठकुरीले सहजिकरण गर्नुभएको कार्यक्रमको रेडियो राजमार्ग र कृषि रेडियोले प्रत्यक्ष प्रसारण गरेको थियो ।कार्यक्रममा सक्रिय सहभागिता जनाएका बालबालिकाहरुले कार्यक्रमस्थल सँगै रेडियो सुनेर पनि प्रश्न तथा जिज्ञासा राखेको स्थानिय अधिकार कार्यक्रम परियोजनाका कार्यक्रम अधिकृत दिल बहादुर रम्तेलले बताउनुभयो ।
कार्यक्रममा थाक्रे गाउँपालिकामा गठित विद्यालयस्तरिय, वडास्तरिय र पालिकास्तरिय बालसञ्जालका करिब ७५ जना प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।