FLASH NEWS

एक वर्षमा १४ खर्ब भन्दा बढी रेमिट्यान्स नेपाल भित्रियो

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ भाद्र २, आईतबार (३ महिना अघि)
  • ७१

    Shares

एक वर्षमा १४ खर्ब भन्दा बढी रेमिट्यान्स नेपाल भित्रियो

राजाराम डंगोल धादिङ

२ भदौ :     एक वर्षमा १४ खर्ब भन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा विपे्रषण आप्रवाह १६ दशमलव ५ प्रतिशतले बढेर १४ अर्ब ४५ अर्ब ३२ करोड पुगेको हो । अघिल्लो आर्थिक वर्षमा १३ दशमलव ९ प्रतिशत विपे्रषण आप्रवाह अर्थात रेमिट्यान्स बढेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तिय स्थितिको प्रतिवेदन अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या केही कम भए पनि रेमिट्यान्स आप्रवाहले भने कीर्तिमान बनाएको हो । एक वर्षमा नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख ६० हजार १०३ रहेको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा ३७ हजार ६ सयले कमी हो । यस अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ ।

चालु खाता २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो आर्थिक वर्षमा चालु खाता ४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो । शोधानान्तर स्थिति पनि ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा हुँदा कुल विदेशी विनिमय सञ्चिती ३२ दशमलव ६ प्रतिशतले बढेर २० खर्ब ४१ अर्ब १० करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो सञ्चितिले १५ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने प्रक्षेपण गरिएको छ ।

गत वर्ष वस्तु आयात र निर्यातमा पनि कमी आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा वस्तु निर्यातमा ३ प्रतिशतले कमी आउँदा १ खर्ब ५२ अर्ब ३८ करोड पुगेको छ । भारतमा हुने निर्यातमा ३ दशमलव ३ प्रतिशत र अन्य मुलुकतर्फ भएको निर्या ४ दशमलव ३ प्रतिशतले घट्दा चीन तर्फको निर्यात भने ४६ दशमलव ६ प्रतिशतले बढेको केन्द्रीय बंैकको तथ्यांक छ । जिंक शिट, पार्टिकल बोर्ड, जुस, पोलिस्टर धागो, पिना लगायतका बस्तुको निर्यात बढ्दा पाम तेल, सोयाविन तेल, उनी, गलैंचा, जुटका सामान लगायतका बस्तुको निर्यात घटेको छ । यसै अवधिमा बस्तु आयात पनि १ दशमलव २ प्रतिशतले घट्दा १५ खर्ब ९२ अर्ब ९९ करोड पुगेको छ ।

भारतबाट ३ प्रतिशत र अन्य मुलुकबाट १७ दशमलव ६ प्रतिशतले आयात घट्दा चीनबाट भएको आयात ३४ दशमलव २ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०÷८१ मा महँगी २ प्रतिशत भन्दा बढीले घटेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षमा ७ दशमलव ७४ प्रतिशत रहेको महँगी गत आर्थिक वर्षमा ५ दशमलव ४४ प्रतिशतमा सीमीत बनेको हो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस