११९
Shares३० भाद्र २०८०। सामान्य विषयमा वादविवादको क्रममा हत्या गर्ने डरलाग्दो प्रवृत्ति देखिएको छ । प्रहरीको तथ्याङ्कमा आर्थिक वर्ष २०७९÷८० मा पाँच सय एक जनाको हत्या भएको छ ।
जसमा ३८ वटा घटना काठमाडौँ उपत्यका भएका थिए । कूल नौ सय ८२ वटा व्यक्ति हत्या प्रयासका घटना भएको छ । त्यसमध्ये ज्यान मार्ने उद्योगका एक सय ३६ घटना काठमाडौँमा भएका पाइएको छ । यी घटनामा अधिकांश सामान्य नागरिक हत्याका शिकार भएका छन् ।
धेरैजसो घटना रिसिइबी र सामान्य कुरा सहन गर्न नसक्दा भएका प्रहरी प्रवक्ता प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले बताउनुभयो । रिसिइबी बाहेक आर्थिक लेनदेनले हत्यासम्मको घटना हुने गरेको प्रहरीले जनाएको छ ।
आजैमात्र काठमाडौं र रौतहटमा पाँच जनाको विभत्स हत्या भएको छ । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा गए राति एकै परिवारका तीनसहित चार जनाको वीभत्स हत्या भएको हो । काष्ठ मिलमा गेटपालेको काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भनिने पूर्णबहादुर भुजेल, उनकी श्रीमती वर्ष ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राईको टाउको र शरीरका विभिन्न भागमा खुकुरीजस्तो हतियार प्रहार गरी हत्या भएको अबस्थामा आज बिहान शव फेला परेको हो । घटनाको अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । लगत्तै अनुसन्धानको दायरा फराकिलो पारेको प्रहरीले हालसम्म चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ । घटनास्थलबाट भाग्दै गर्दा पक्राउ परेका २८ वर्षका दीपेन्द्र राईलाइ प्रहरीले बलियो प्रमाण भनेको छ । तर राइसहित पक्राउ परेका चारै जनाको हत्यामा संलग्नताबारे भने यकिन नभएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख तथा एसएसपी सोमेन्द्र सिंह राठौंरले जानकारी दिनुभयो । वीभत्सरुपमा गरिएको हत्याको कारण खुलिसकेको छैन । प्रहरीले यस घटनामा काविल अनुसन्धान अधिकृत र तालिमप्राप्त कुकुर परिचालन गरेको छ भने सबै नाकामा निगरानी बढाएको छ । घटनाको प्रकृति हेर्दा सामान्य मानिसको हत्या भएकाले ठूलो गिरोह तथा कुनै ठूलो आर्थिक लाभका लागि नभएको निष्कर्ष प्रहरीको छ । यद्यपि यस्ता सामान्य मानिसको हत्या पछिल्ला समयमा देखिँदै आएको छ । रौतहटकोे कटहरियामा आपसी विवादमा छुरा प्रहार हुँदा २५ वर्षीय सुनिल राय यादवको ज्यान गएको छ । रिसिइबीका अलावा आर्थिक समस्याले पनि घटना भएको प्रहरीको दाबी छ । आवेगमा आएर गरिने क्रियाकलापले समाज गाल्दै गएकाले नैतिक शिक्षा बढाउन जरुरी रहेको विज्ञहरुको भनाई छ ।
अपराधका घटना बढिरहेका छन् । देशमा मानवता हराउँदै गएको पछिल्ला केही घटनाले देखाएका छन् । सरकार भने गम्भीर अपराधमा संलग्नहरुलाई नै माफी दिन लागिरहेको छ । गणतन्त्र दिवसका अवसरमा टिकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरीले बाँकी कैद माफी पाए भने असोज ३ गते मनाइने संविधान दिवसका अवसरमा त्यस्तै प्रकृतिका अपराधीलाई जेलबाट रिहा गर्न सरकारले सिफारिस गरेको छ । कर्तव्य ज्यान मुद्दामा जन्मकैद ठहर भएका, काठ चोरी, हतियार तथा खरखजाना, सरकारी दस्तखत कीर्ते, सवारी ज्यान, ठगी र कुटपिटमा संलग्न भएर दोषी ठहर भएका व्यक्तिहरू नै माफी पाउनेको सूचीमा परेका छन् । संवैधानिक व्यवस्था विपरित राष्ट्रपतिको कार्यालयले सरकारको सिफारिसमा गम्भीर अपराधमा संलग्नको समेत बाँकी कैद मिनाहा गर्न लागेको हो । माफी पाउनेको सूचीसहित सरकारको निर्णय भने नआएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा आचार्य रेग्मीले जानकारी दिनुभयो । गणतन्त्र दिवस, संविधान दिवसमा असल चालचलन भएका र नेगेटिभ लिस्टमा नरहेका अभियुक्तहरूलाई मन्त्रीपरिष्को सिफारिसमा राष्ट्रपतिले माफी दिने परम्परा रहेको महान्यायधिवक्ताको कार्यालयका सहन्यायधिवक्ता लोकराज पराजुलीले जानकारी दिनुभयो ।