FLASH NEWS

चन्द्रयान –३ को सफल अवतरण भारतले इतिहास रच्यो, दक्षिणी ध्रुवमा पुग्ने पहिलो बन्न सफल

  • टोलटोलको खबर
  • अन्तराष्ट्रिय
  • प्रकाशित मिति:
  • २०८० भाद्र ६, बुधबार (१ साल अघि)
  • ४५२

    Shares

चन्द्रयान –३ को सफल अवतरण भारतले इतिहास रच्यो, दक्षिणी ध्रुवमा पुग्ने पहिलो बन्न सफल

६ भाद्र , २०८० ।  कवि थापा             दक्षिणी छिमेकी मुलुक भारतले आज चन्द्रमामा सफल अवतरण गरेर इतिहास बनाएको छ । भारतीय अन्तरिक्ष एजेन्सी (इसरो) ले आज चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान ३ नामक उपग्रह (अन्तरिक्षयान) अवतरण गराएर इतिहास रचेको हो । आजको दिन इसरोले गौरबमय ऐतिहासिक पल भनेको छ ।

चन्द्रयान–३ सफल भएपछि भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश बनेको छ भने सफलतापूर्वक चन्द्रमाको सतहमा पुग्ने चौथो देश बनेको छ । भारतले चन्द्रयान ३ नाम गरेको अन्तरिक्षयान १४ जुलाई दिउँसो २ः ३५ बजे (भारतीय समय) मा श्रीहरिकोटाबाट प्रक्षेपण गरेको थियो ।

चन्द्रयान ३ ले आफ्नो ४० दिनको लामो यात्रा गर्दै बुधबार २३ अगष्ट २०२३ साँझ नेपाली समय अनुसार ६ बजेर १८ मिनेटमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको हो । चन्द्रमासम्म पहुँच राख्ने देशहरुमा अमेरिका, रुस र चीनको नाम लिने गरिएको थियो । चन्द्रयान ३ चन्द्रमामा सफल अवतरणपछि इतिहासमा चन्द्रमाको सतहमा सफल ल्याण्ड गर्ने चौथो देशको रुपमा भारत बनेको छ । यसअघि रुसले प्रक्षेपण गरेको चन्द्र मिसन लुना २५ ले अवतरण गर्ने दाबी गरिएपछि उक्त मिसन असफल भइसकेको छ ।

 

चन्द्रयान ३ ले चन्द्रमाको सतहमा सफल अवतरण गरेको क्षण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दक्षिण अफ्रिकाको जोहानस वर्गबाट भर्चुअल रुपमा जोडिनुभएको थियो । चन्द्रयान ३ को अवतरण अघि प्रधानमन्त्री मोदीले ब्रिक्स सम्मेलनमा ब्रिक्स मुलुकहरुले स्पेश एक्सपलोरेशन कन्सोर्टियम बनाउने बारे विचार गर्नसक्ने बताउनुभएको थियो ।

 

मोदीले इसरोले वर्षौ देखि यस क्षणको लागि परिश्रम गरेको भन्दै एक सय १८ करोड देशवासीलाई बधाइ दिनुभयो । सफल अवतरणपछि प्रधानमन्त्री मोदीले अविस्मरणीय, अभुतपुर्व क्षण भन्नुभएको छ । चन्द्रयान–३ अबतरण हुनै लाग्दा भारतका बिभिन्न मन्दिर तथा मस्जिदहरुमा सफलताको लागि पुजा तथा प्रार्थनजा भईरहेको थियो ।

 

चन्द्रयान–३ को मुख्य उद्देश्य चन्द्रममा पानीको खोजी गर्नेछ । पानीको स्रोतका रूपमा बरफ फेला परे भविष्यमा चन्द्रमामा मानव बसोबासलाई सहयोग पुग्ने वैज्ञानिकहरूको दाबी छ । सन् २०१९ मा चन्द्रयान–२ को प्रक्षेपणमा, ल्यान्डर मोड्युल चन्द्रमाको सतहमा २ दशमलब १ किलोमिटरको उचाइसम्म पुगेको थियो । त्यतिन्जेल सबै ठीकठाक रहेको चन्द्रयान २ प्राविधिक त्रुटिका कारण दुर्घटना भएको थियो । यसपटक दुर्घटना रोक्न ईसरोले सबै सावधानी अपनाइएको दाबी गरेको छ ।

 

चन्द्रयान–३ को ल्यान्डर अवतरण प्रक्रियाको इसरोले वेबसाइट, युट्युब र फेसबुकबाट प्रत्यक्ष प्रसारण गरेको थियो । प्रोपल्सन मोड्युलले चन्द्रयान ३ को ल्याण्डर र रोबरलाई चन्द्रमाको १०० किलोमिटरको उचाइसम्म पु¥याएको थियो । ६ दिन अघि अर्थात १७ अगष्टमा ल्याण्डर मोड्युल प्रोपल्सन मोड्युलबाट अलग भएको थियो । यसको वजन २१४५ किलो ग्राम रहेको छ ।

चन्द्रयान ३ को आकार एएएचएपीइ (स्पेक्ट्रो पोलरोमेट्री अफ हैबिटेबल प्लेनेटरी अर्थ) नामक उपकरणले सजाइएको छ । यसको अर्थ यसले चन्द्रमाको परिक्रमा गरिरहने तथा ब्रमाण्डमा पृथ्वी जस्तै अन्य ग्रहहरुको खोजी गरिरहनु हो । यसले अन्य ग्रहको स्पेक्ट्रोपोलिमेट्रिक संकेत पत्ता लगाएर पृथ्वीको जस्तै जीवन ग्रहको खोजी गर्ने इसेराले बताएको छ । चन्द्रमाको सतहमा आज सफलतापूर्वक अवतरणपछि चन्द्रयान ३ को ल्याण्डर (जसलाई विक्रम नाम दिइएको छ) विक्रम ल्याण्डरको अवतरणपछि ल्याण्डरबाट रोवर (प्रज्ञान) नामक रोवर चन्द्रमाको सतहमा निस्कनेछ ।

 

प्रज्ञान रोवरले नै चन्द्रमाको सतहमा घुमेर जाँचगर्दै जानकारी जुटाउने छ । चन्द्रयान ३ ले तीन देखि ६ महिनासम्म चन्द्रमाको परिक्रमा गर्ने इसरोको अनुमान छ । एसएचएपीइ उपकरण प्रोपल्शन मोड्युलमा लगाएको एक यन्त्र हा, जसले खोजीएको जानकारी भारतीय डीप स्पेस नेटवर्कसम्म पठाउनेछ । चन्द्रयान ३ को ल्याण्डर मोड्युलमा ल्याण्डर र रोवर रहेको छ ।

 

चन्द्रयानको ल्याण्डर २ मिटर लामो र २ मिटर चौडा, १ मिटर ११६ सेन्टिमिटर उचाइ रहेको छ भने १७४९ किलोग्राम तौल रहेको छ । ल्याण्डरले चन्द्रयान ३ को सञ्चारमा महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । ल्याण्डरबाट निस्किने रोवरले सञ्चार गर्ने इसरोले बताएको छ । रोवरलाई चन्द्रयान ३ को मुख्य वस्तु मानिएको छ । यसले चन्द्रमामा अवतरणपछि चन्द्रमाको सतहमा घुमेर चेकजाँच गरी जानकारी जुटाउने छ । रोवरको वजन २६ किलोग्राम रहेको छ ।

यसमा ६ वटा पांग्रा लगाइएको छ । यसमा बिजुली उत्पादनको लागि सोलार प्यानलको साथै ब्याट्री पनि लगाईएको छ । रोवरले आफ्नो पांग्राको सहायतामा चन्द्रमाको सतहमा डुल्नेछ भने यसले केवल ल्याण्डरसँग मात्रै सञ्चार गर्नसक्ने गरी डिजाइन गरिएको छ । रोबरले हासिलको गरेको जानकारी ल्याण्डरलाई पठाउने छ भने ल्याण्डरले प्रोपल्सन मोड्युल हुँदै भारतीय डिप स्पेश नेटवर्कमा जानकारी पठाउनेछ ।

 

ल्याण्डरले जानकारी पृथ्वीसम्म पठाउन आवश्यक पर्ने बिजुली सोलार प्यानलबाट लिने भएकाले यसलाई ठिक सुर्योदयको समयमा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरिएको इसरोको भनाई छ । चन्द्रमामा पृथ्वीको १४ दिन बराबर एक दिन हुन्छ भने १४ दिनकै समय बराबरको रात हुन्छ । भारतले चन्द्रमामा पठाएको तेस्रो अन्तरिक्षयान चन्द्रयान ३ विशेषतः तीन उदेश्यले बनाईएको थियो ।

 

चन्द्रमाको दक्षिणी ध्रुवमा ल्याण्डरको सुरक्षित अवतरण, चन्द्रमाको सतहमा ल्याण्डर अवतरणपछि ल्याण्डरलाई वरपर घुमाउनु र ल्याण्डर र रोबरको सहायतामा चन्द्रमाको सतहको चेकजाँच गर्ने उदेश्यका साथ चन्द्रयान ३ निर्माण गरिएको इसेराले बताएको छ । यसअघि इसरोले पहिलो चन्द्र मिसन अन्तर्गत चन्द्रयान १ नामक अन्तरिक्षयान ८ अक्टोबर २००८ मा सफल अवतरण गरेको थियो ।

चन्द्रयान १ ले चन्द्रमाको सतहमा पानीको खोज गरेर इतिहास रचेको छ । इसरोको दोस्रो चन्द्र मिसन अन्तर्गत चन्द्रयान २ भारले जुलाई २०१९ मा प्रक्षेपण गरेको थियो । चन्द्रयान २ आजपनि चन्द्रमाको कक्षमा घुम्दै डाटा दिँदै रहेको इसरोले बताएको छ । यसले चन्द्रमाको लगभग सबै भागको फोटो लिइसकेको बताएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस