FLASH NEWS

गत आ.व. मा मूल्यवृद्धि सरकारको लक्ष्यभन्दा माथि, चीनतर्फको निर्यातमा उल्लेख्य सुधार

  • टोलटोलको खबर
  • अर्थतन्त्र
  • प्रकाशित मिति:
  • २०८० भाद्र १, शुक्रबार (१ साल अघि)
  • १९४

    Shares

गत आ.व. मा मूल्यवृद्धि सरकारको लक्ष्यभन्दा माथि, चीनतर्फको निर्यातमा उल्लेख्य सुधार

१ भद्र,२०८०।       गत आर्थिक वर्ष २०७९÷८० को औसत वार्षिक मूल्यवृद्धि ७ दशमलव ७४ प्रतिशत रहेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवका लागि राखिएको मुद्रास्फीतिको वाञ्छित सीमा नाघेको देखिएको हो ।

गत आवका लागि सरकारले वार्षिक औसत उपभोक्ता मुद्रास्फीति(मूल्यवृद्धि) ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकोमा ७ दशमलव ७४ प्रतिशत पुगेको देखिएको हो । अघिल्लो आव यस्तो मुद्रास्फीति छ दशमलव ३२ प्रतिशत थियो ।
अघिल्लो आवको तुलनामा आवमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुराँ तथा होटल उप–समूहको मूल्यवृद्धि १४ दशमलव ४२, मरमसलाको १२ दशमलव ५०, खाद्य तथा खाद्यजन्य पदार्थको १० दशमलव ७०, सुर्तीजन्य पदार्थको नौ दशमलव ८८ र दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव २३ प्रतिशत छ ।

साथै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप–समूहको मूल्यवृद्धि १३ दशमलव ५०, मनोरञ्जन तथा संस्कृतिको १० दशमलव १८, स्वास्थ्यको १० दशमलव ०१, शिक्षाको आठ दशमलव ७९ र घरायसी उपयोगका वस्तुको ८ दशमलव ६५ प्रतिशत छ ।

गत आवमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ६२ प्रतिशते छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति पाँच दशमलव ६९ प्रतिशत थियो । २०८० असार महिनामा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत छ ।

गत आवमा गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ८ दशमलव ६२ प्रतिशत रहेको छ । अघिल्लो आव उक्त समूहको यस्तो मुद्रास्फीति ६ दशमलव ८३ प्रतिशत थियो । गत असार महिनामा मात्र गैरखाद्य तथा सेवा समूहको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७ दशमलव ४८ प्रतिशत देखिएको छ । जबकि, २०७९ असार महिनामा उक्त समूहको यस्तो मुद्रास्फीति ९ दशमलव ०३ प्रतिशत थियो ।

गत आवमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा ७ दशमलव ५५, तराईमा आठ, पहाडमा ७ दशमलव ५६ र हिमालमा ७ दशमलव १२ प्रतिशत छ । अघिल्लो आव उक्त क्षेत्रमा यस्तो मुद्रास्फीति क्रमशः ५ दशमलव ७३, ६ दशमलव ४१, ६ दशमलव ८७ प्रतिशत र ६ दशमलव ०७ प्रतिशत थियो ।

केन्द्रीय बैंकका अनुसार गत आवमा मुलुकबाट रु एक खर्ब ५७ अर्ब १४ करोडको वस्तु निर्यात भएको छ । जुन अघिल्लो आवका तुलनामा २१ दशमलव चार प्रतिशतले कम हो । अघिल्लो आवमा निर्यात ४१ दशमलव सात प्रतिशतले बढेको थियो । तथ्याङ्कअनुसार गत आवमा कूल वस्तु आयात १६ दशमलव एक प्रतिशतले घटेर रु १६ खर्ब ११ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो आवमा यस्तो आयात २४ दशमलव सात प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार गत आवमा भारततर्फ भएको निर्यात ३१ दशमलव तीन प्रतिशतले घटेको र चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः ११८ दशमलव तीन प्रतिशत र १० दशमलव सात प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिङ्क सिट, पार्टिकल बोर्ड, अलैँची, ऊनी गलैँचा, पोलिस्टर धागोलगायतका वस्तुको निर्यात बढेको तथा सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहनालगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४ दशमलव चार प्रतिशत, १५ दशमलव नौ प्रतिशत र २० दशमलव सात प्रतिशतले घटेको छ । स्पोञ्ज आइरन, रासायनिक मल, अन्य स्टेसनरी सामान, अलकत्रा, कागजलगायतका वस्तुको आयात बढेको र सवारी साधन तथा स्पेयर पार्टस, एमएस विलेट, औषधि, पेट्रोलियम पदार्थ, कच्चा भटमासको तेललगायतका वस्तुको आयात घटेका राष्ट्र बैंकले जनाएको छ ।

 

गत आवको वैदेशिक व्यापारमा निर्यात–आयातको अनुपात नौ दशमलव सात प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्ष २०७९÷८० मा चालु खाता रु ७२ अर्ब १६ करोडले घाटामा रहेको देखिएको छ ।
प्रतिवेदनअनुसार गत आव नेपालले रु पाँच अर्ब ९६ करोड बराबर मात्रै खुद प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको देखिएको छ । गत आवमा शोधनान्तर स्थिति रु दुई खर्ब ९० अर्ब ५२ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु दुई खर्ब ५५ अर्ब २६ करोडले घाटामा थियो ।

विसं २०७९ असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २६ दशमलव ६ प्रतिशतले वृद्घि भई २०८० असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० असार मसान्तमा २७ दशमलव ४ प्रतिशतले वृद्घि भई रु १३ खर्ब ४५ अर्ब ७८ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति अघिल्लो आवको तुलनामा गत आव चार प्रतिशतले वृद्धि भई रु एक खर्ब ९३ अर्ब ५९ करोड पुगेको छ । गत असार मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ५ प्रतिशत छ ।

आव २०७९÷८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ दशमलव ७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । गत असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः २८ दशमलव ६, ८३ र २५ दशमलव एक प्रतिशत रहेका छन् ।

आर्थिक वर्ष २०७९÷८० मा मुलुकको वैदेशिक व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेको छ । अघिल्लो आवको तुलनमा गत आवमा व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेर रु १४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको छ । अघिल्लो आवमा यस्तो घाटा २३ दशमलव शून्य प्रतिशतले बढेको थियो ।

गत आर्थिक वर्षमा खुद प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको छ । खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति ७४ अर्ब ९० करोडले घाटामा छ । गत असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति १६ सय ५४ अर्ब ५० करोड तथा दायित्व १७ सय २९ अर्ब ३९ करोड रहेको केन्द्रीय बैंकले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस