२१३
Shares२८ साउन ,२०८० नेपाल प्रहरीले काठमाडौंमा बन्धक बनाईएका ६ बंगलादेशी नागरिकको उद्दार गरेको छ। उनीहरुलाइ बन्धक बनाई उनीहरुको परिवारसँग फिरौती रकम माग्ने गिरोहमा संलग्न बंगलादेशी नागरिकसहित ७ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। गिरोहले वैदेशिक रोजगारको लागि नेपाल हुँदै विभिन्न देशमा पठाइदिने बहानामा बंगलादेशबाट नेपाल ल्याई काठमाडौंका विभिन्न स्थानहरुमा रहेका होटल तथा सेफ हाउसमा बन्धक बनाई राख्ने र परिवारसँग पैसा माग्ने गरेको थियो। कालिमाटीडोलमा रहेको मेमोरियल गेष्ट हाउसबाट एमडि नाजमुल, एमडि इयासिन, इब्राहिम हुसैन र एमडि अल अमिन, हरिसिद्धिको एक घरमा बन्धक बनाइराखेको अवस्थामा राजोन र राजोन फरहाद हुसैनलाई उद्धार गरिएको वरिष्ठ प्रहरी उपरिक्षक डा. मनोज केसीले जानकारी दिनुभयो। उहाँका अनुसार गिरोहमा संलग्न बंगलादेशका नागरिक ४७ वर्षीय अमिर हुसेन, ३७ वर्षीय एमडि मोसिउर, हरिसिद्धि ललितपुर बस्ने बंगलादेशी नागरिक ३८ वर्षीयसलिम मियाँ, सिन्धुपाल्चोक बलेफी–६ कि २७ वर्षीया तारा नेपाली, बंगलादेशी नागरिक २१ वर्षीय जहाङ्गीर आलम, काठमाडौं हाडिगाउँ बस्ने बंगलादेशी नागरिक २१ वर्षीय तहमिना बेगम र इलाम चुलाचुली–४ कि ३३ वर्षीया रोशनी राई पक्राउ परेका छन्। उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को दफा २११ र २१२ तथा संगठित अपराध निवारण ऐन २०७० बमोजिमको कसूरमा थप अनुसन्धान तथा कारबाहिको लागि आज प्रहरी परिसर काठमाडौं पठाइएको छ।