२३७
Shares२२साउन२०८० ।। समुदायको सांस्कृतिक परम्परामाथि ठेस पुगेको भन्दै आज तामाङ र मगरले काठमाडौं उपत्यकासहित देशैभर विरोध प्रदर्शन गरेको छ । अधिवक्ता भगवति पाण्डेले तामाङ र मगर समुदायमा दाजुबहिनीबिच विवाह हुने र त्यसबाट जन्मने सन्तान आपराधिक मानसिकताका हुने आसायको अभिब्यक्ति एक टेलिभिजन कार्यक्रममा दिएपछि आन्दोनमा उत्रिएका उनिहरु गत १७ गते प्रहरीले चरम दमन गरेपछि थप आक्रोसित बनेका हुन् ।
उनिहरुले आज अधिवक्ता पाण्डे र काठामाडौं प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीलाई कारबाहीको माग गर्दै देशैभर विरोधका कार्यक्रम गरेका हुन् । टेकु प्रहरी परिसरमा हिरासतमा प्रहरीको कुटपिटबाट गम्भिर घाइतेहरुको राज्यद्धारा उपचार गर्नुपर्नेलगायतका माग राख्दै नेपाल तामाङ घेदुङ र नेपाल मगर संघको अगुवाईमा आज उनिहरु सडकमा उत्रिए । काठमाडौंको माइतीघर मण्डलाबाट दिउँसो ठुलो संख्यामा निस्केको जुलुस नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै नेपाल आदिवास जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पाले आदिवासी समुदायको आत्मसम्मानमा चोट पुग्ने काम कसैले नगर्न चेतावनी दिनुभयो । यस्तै नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनले अभियुक्त पाण्डेलाई उम्काउने चलखेल र शान्तिपुर्ण अधिकारको आन्दोलनमा प्रहरीको दमन हुनु नश्लिय चिन्तनको पराकाष्ट भएको बताउनुभयो । नेपाल तामाङ घेदुङका महासचिव काजिमान थिङले अभिवक्ता पाण्डेलाई र एसएसपी कार्कीलाई कारबाही नभए सम्म आन्दोलन नरोकिने चेतावनी दिनुभयो ।
यस्तै सभामा लेखक तथा अभियान्त आहुति, ताम्सालिङ संयुक्त संर्घष समितीका संयोजक डा. गणेश योन्जनलगायतले राज्यको विभेदकारी नीति र सोचको अन्त्य नभएसम्म यस्ता घटनाहरु भइरहेने भन्दै चुप लागेर बस्न नहुने बताउनुभयो । नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेका अनुसार आज करिब ५० वटा जिल्लामा जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा विरोध प्रदर्शन गरी गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । यसैबिच प्रदर्शनसंगै आजै गृहमन्त्री नारायाणकाजी श्रेष्ठलाई प्रत्यक्ष भेटेर कारबाहीको लागि ध्यानकर्षण गराइएको छ । त्यसक्रममा गृहमन्त्री श्रेष्ठले शान्तिपुर्ण प्रदर्शनमा भएको घट्नामा दुख व्यक्त गर्दै हिरासत भित्र प्रदर्शनकारीहरुलाई यातना दिने प्रहरी र विवादास्पद अभिव्यक्ति दिने पाण्डेको छानबिन गरि आवश्यक कारबाही गर्ने र सम्पूर्ण घाइतेहरुको उपचार राज्यले गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको घेदुङका अध्यक्ष गोलेले जानकारी दिनुभयो।