FLASH NEWS

आँखा पाक्ने समस्या देशभर फैलिँदै, धादिङमा उपचार गर्न आएका ७५ प्रतिशतमा संक्रमण पुष्टि

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० श्रावण २०, शनिबार (१ साल अघि)
  • ७४७

    Shares

आँखा पाक्ने समस्या देशभर फैलिँदै, धादिङमा उपचार गर्न आएका ७५ प्रतिशतमा संक्रमण पुष्टि

२० साउन ,राजाराम डंगोल ,धादिङ ।       केही समयदेखि बालकदेखि वृद्धसम्ममा आँखा पाक्ने समस्या बढ्दै गएको छ।
पछिल्लो दुइसातादेखि धादिङसहित झापा, कैलाली, कञ्चनपुर, सुर्खेत, धनुषा, काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको हो। आँखामा भएको संक्रणका कारण दैनिक सयौं बिरामीहरु आँखा उपचारका लागि अस्पतालसम्म पुग्न थालेका छन्।
जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा पछिल्लो दुइ सातामा आँखा उपचार गराउन आउने ३०० सय भन्दा बढी बिरामीमध्ये ७५ प्रतिशत बिरामीले आँखा पाक्ने समस्या लिएर आउने गरेका तिलगंगा सर्जिकल आँखा केन्द्र धादिङका वरिष्ठ नेत्र अधिकृत रामसिंग तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार केही समय अघिसम्म मोतिया बिन्दु, आँखामा मासु पलाउने लगायतका समस्या लिएर उपचारका लागि अस्पताल आउने गरेका थिए।
अन्य जिल्लाका आँखा अस्पतलहरुमा दैनिक सरदर एक सय देखि २ सय सम्म आँखा पाक्ने समस्या लिएर बिरामीहरु पुग्ने गरेका छन्। राजधानीकै नेपाल आँखा अस्पताल, गौशाला स्थित तिलगंगा आँखा प्रतिष्ठानमा गत दुइ सातादेखि दैनिक ५० भन्दा बढी आँखा पाक्ने समस्याका बिरामीहरु पुग्ने गरेका छन्।
मुलुकका कुन कुन स्थानमा कति जनामा संक्रमण फैलिएको यकिन तथ्यांक भने सरकारसँग छैन। तथापी संक्रमण छिटो फैलिने भएकाले सतकर्ता अपनाउन अनुरोध गरेको छ । हरेक वर्षको यस समयमा आँखामा हुने संक्रमण जस्ता रोगहरु देखिने गरेपनि यस वर्ष गत वर्षभन्दा बढी फैलिएको आँकलन गरिएको छ।
आँखा पाक्ने समस्या एडिनो भाइरसका कारण हुने तिलगंगा आँखा प्रतिष्ठानकी नेत्र सर्जन डा. मलिता अमात्यले जानकारी दिनुभयो। उहाँका अनुसार आँखा पाक्ने समस्यालाई चिकित्सकीय भाषामा एडिनो भाइरस कन्जन्टिभाइटिस भनिन्छ।
उहाँले भाइरल इन्फेक्सन र ब्याक्टेरीयाको कारणले आँखा पाक्ने समस्या देखिने गरेको बताउनुभयो । धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरु अस्पताल आउने गरेको बताउनु भयो । उहाँले यो पटक विगतको वर्षहरु भन्दा धेरै नै केसहरु देखिएको बताउनु भयो ।

हरेक वर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिने गरेको नेत्र विशेषज्ञहरु बताउँछन्। तर, यस वर्ष भने धेरै स्थानमा प्रकोपको रुपमा यस्तो समस्या देखा परेको छ।
प्रतिष्ठानका आइ सर्जन डा.अमात्यका अनुसार आँखा पाक्ने समस्या देखिँदा विभिन्न व्यक्तिपिच्छे फरक फरक लक्षण देखिने गरेको छ । जसअनुसार चिलाउने, रातो रातो देखिने, पाक्ने जस्ता समस्या देखिने गरेको छ। साथै केही विरामीमा रुघाखोकी र ज्वरो समेत आउने गरेको डा.अमात्यले स्पष्ट पार्नुभयो।
धेरै जसो व्यक्तिहरुलाई सुरुमा आँखाबाट आँसु आउने, बिझाउने हुने, अफ्ठ्यारो महसुस हुने, आँखा रातो हुने, आँखामा चिप्रा आउने हुने नेत्र विषेशज्ञहरुले बताएका छन् । कतिपयमा त चिप्रा आएर आँखा नै टालिने हुन्छ । धेरै जसो बिरामीले बिहान उठ्दा आँखा पूरै टालिएको भन्ने गरेका उनीहरुको भनाई छ । उपचार नै नगरेर त्यत्तिकै छोड्दा आँखाको भित्री तहमा सेतो रङको पत्रहरु जम्न थाल्ने भएकाले उपचार गराउन सुझाव दिएका छन् ।
जम्न थालेको सेतो पत्रहरुलाई त्यत्तिकै छोड्दा आँखाको कालो नानीमा पनि घाउ हुनसक्ने डा. अमात्यले सचेत गराउनुभयो। कसै कसैलाई कालो नानीमा घाउ भएर अट्याक गर्नसक्ने उहाँको भनाइ छ। त्यस्तो अवस्थासम्म पुगेमा भने आँखाको दृष्टि नै गुम्नसक्ने खतरा रहेको उहाँले बताउनुभयो।
आँखा पाक्ने रोग जुनसुकै उमेर समुहका मानिसलाई पनि लाग्न सक्ने नेत्र विशेषज्ञहरु बताउँछन्।
आँखा पाक्ने समस्याबाट बच्न आफूले प्रयोग गर्ने रुमाल, साबुन छुट्टै राख्नुपर्ने डा. अमात्यले बताउनुभयो । उहाँले एक व्यक्तिको आँखाको तत्व अर्को व्यक्तिमा पुग्यो भने फैलिनसक्ने भन्दै यो आँसुबाटसमेत सर्ने जानकारी दिनुभयो।
आफुलाई यस्तो संक्रमण भइहालेनमा अन्य व्यक्तिमा सर्न नदिनसमय समयमा साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्न, आँखा छोइसकेपछि वा आँखामा ड्रप हालिसकेपछि राम्रोसँग साबुन पानीले हात धुन, भीडभाडमा नजान सुझाव दिएको छ।
आँखा पाक्यो भने उज्यालोमा हेर्न अफ्ठयारो हुने भएकाले त्यसतो अवस्थामा कालो चस्मा लगाउनपनि चिकित्सकहरुको सुझाव छ । आँखा रोग विशेषज्ञहरुले कुनैपनि व्यक्तिमा आँखा पाक्ने समस्या देखिए हेलचेक्र्याँई गर्न नहुने भन्दै आँखा पाकिहाले नजिकको आँखा केन्द्रमा गएर चिकित्सकको परामर्श लिनुपर्ने र जथाभावी औषधिको प्रयोग गर्न नहुने सुझाव दिएका छन् ।

आँखा पाक्ने रोगको संक्रमण भएमा के गर्ने ?
आँखा चिसोले तथा बरफले सेक्ने,
सफा पानीले आँखा सफा गर्ने,
घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने,
संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने आदि ।

के नगर्ने ?
संक्रमित आँखालाई सकेसम्म नचलाउने,
स्कुल,कलेज र अन्य भीडभाड भएको ठाउँमा नजाने,
अरुले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्ने,
आफूखुशी औषधिको प्रयोग नगर्ने आदि ।

 

 

 

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस