१३८
Shares१३ साउन,२०८० रोजगारका क्रममा अन्य विभिन्न देश पुगेका नेपालीलाई स्वास्थ्य सेवा दिन स्थापना गरिएको वीर अस्पतालको निःशुल्क टेलिमेडिसिनमा तीन महिनामा ९सय ३७ जना नेपालीले सेवा लिएका छन्।
वीर अस्पतालको १३४ औं वार्षिकोत्सवको अवसरमा सार्वजनिक गरिएको प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाने नेपालीलाई लक्षित गरेर स्थापना गरिएको टेलिमेडिसिन सेवामार्फत तीन महिनामा ९सय ३७ जना नेपालीले सेवा लिएका छन्।
सेवा लिनेमा सबैभन्दा धेरै मलेसियामा रहेका नेपाली कामदारहरु रहेका छन्। मलेसियाबाट २सय ७६ जना नेपाली कामदारले सेवा लिएका छन्। यसैगरी साउदी अरबबाट २सय २७ जना, कतारबाट १सय ४ जना, युएईबाट ९७ जना, कुवेतबाट ७० जना, कोरियाबाट ५७ जना र अन्य देशबाट १०६ जना नेपाली कामदारले टेलिमेडिसिन सेवा लिएको अस्पतालले जनाएको छ।
वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक कामदारलाई लक्षित गरेर टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत वर्ष फागुन २ गते टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेर वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँग सहकार्य गरी गत चैत १५ गतेदेखि टेलिमेडिसिन सेवा सञ्चालन गरेको थियो।
पछिल्लो समय वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकका लगायत विभिन्न देशमा पुग्ने नेपाली श्रमिकमा विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेपछि यो सेवा शुरु गरिएको हो।