१६७
Shares१२ साउन ,२०८० धरानमा डेंगु संक्रमणका कारण थप एक बालकको मृत्यु भएको छ । यो सँगै धरानमा जेठयता डेंगुका कारण मृत्यु हुने बिरामीको संख्या ८ जना पुगेको छ । पछिल्लो ९ दिन यतामात्रै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगी संक्रमणका कारण ५ जनाको मृत्यु भएको हो । डेंगी संक्रमणबाट साउन ३ गते धरान–५ देउराली बस्ने ५३ वर्षीया महिला, साउन ७ गते धरान–१० बस्ने ५६ वर्षीय पुरुष, धरान–२ बस्ने ७७ वर्षीय वृद्ध, साउन १० गते उदयपुरको कटारी बस्ने २९ वर्षीय पुरुष र हिजो बिहीबार धरान ११ बस्ने १० वर्षीया बालिकाको मृत्यु भएको धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा महिला र पुरुष चार÷चार जना छन् । धरानमा डेंगु संक्रमणका दर ५९ प्रतिशत रहेको जनस्वास्थ्य अधिकृत मेहताले बताउनुभयो । धरानमा ३ हजार ७ सय ३१ परीक्षण भएकोमा २ हजार १९९ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य महाशाखाले बढी प्रभावित वडाहरुमा लार्भा खोज र नष्ट गर अभियानलाई तीब्र पारिएको बताएको छ । गत वर्ष ७६ जिल्लामा फैलिएको डेंगु संक्रमण यस वर्षपनि प्रकोपको रुपमा फैंलिँदै गएको छ। गत वर्ष मुस्ताङबाहेक जिल्लाका ५४ हजार भन्दा बढी जनामा संक्रमण भएको डेंगुले यसवर्ष ८ जनाको मृत्यु भइसकेको छ। गत वर्ष देशभरका ८८ जनाले डेंगु संक्रमणबाटै ज्यान गुमाएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबारसम्ममा ४ हजार ६ सय १९ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको विवरण सार्वजनिक गरेको छ । जसमा सबैभन्दा बढी सुनसरीमा २७ सय ३७ जनामा र धादिङमा ४ सय ८३ जनामा डेंगु संक्रमण भएको छ। त्यस्तै कास्कीमा २०८, दार्चुलामा १९०, काठमाडौंमा ८८ र संखुवासभामा ७५ जनामा संक्रमण भएको महाशाखाले बताएको छ ।