४८३
Shares२ साउन,२०८०धादिङ । आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुंगा–सिस्नेखोला) सुरुङमार्गको अनुगमन गर्नु भएको छ।
मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला,भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, संघिय सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा गङ्गालाल तुलाधर, प्रदेश सांसद मदुकुमार श्रेष्ठ, सडक विभाग र विश्व बैंकका उच्च अधिकारी,धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, उप मेयर सुरज उप्रेती ,लगाएतका टोलीले निर्माणाधीनमा रहेको सुरुङमार्गको स्थलगत निरीक्षण गर्नु भएको हो।
निरीक्षणका क्रममा मन्त्री ज्वालाले थपिएको समय भित्र काम समॉन्न गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिनुभएको छ। निर्माण प्रक्रियामा कुनै पनि व्यवहारिक जटिलता उत्पन्न भए सरकारले सहजीकरण गरिदिने निरीक्षण को क्रममा उहाले बताउनु भयो ।
मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिनु भएको हो । सुरुङमार्गको मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी रहेको निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रमुख इन्जिनियर नारायण दुवाडीले जानकारी दिनु भयो ।
अबको केही महिनामानै रेस्क्यु टनेल जोडिसक्ने र छिट्टै मुख्य टनेल पनि जोड्ने तयारी छ । आउँदो एक वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको दुवाडीले बताउनु भयो ।
वि.सं २०७६ कात्तिकमा सुरुङमार्गको शिलान्यास गरिएको थियो । यसको लम्बाइ २.६८ किलोमिटर छ । यहाँ ९ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् ।
कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि १४ महिना थपिएको थियो । थपिएको समयअनुसार २०८१ सालको असोजसम्ममा सम्पूर्ण काम सकेर सुरुङमार्गमा सवारी सञ्चालन ल्याउन सकिने निर्माण कम्पनीको भनाइ छ ।