२२३
Sharesकाठमाण्डौंको फोहोर बैज्ञानिक ढंगबाट व्यवस्थापन गर्न धादिङको धुनिवेशी नगरपालिका , नुवाकोटको ककनी गाउपालिका र बेलकोटगढी नगरपालिकाले माग गरेका छन्।
उपत्यकाको फोहोर विर्सजन केन्द्र बञ्चरेडाँडा कुडुले ल्यान्डफिल साइटमा फोहोर प्रभावित पालिकाहरुको तर्फबाट संयुक्त रुपमा शनिबार पत्रकार सम्मेलन गर्दै ३ बुँदे माग राखेका हुन् ।
बैशाख ५ गते धादिङको धुनिबेशी र नुवाकोटको ककनी गाउँपालिकाले सयुक्त रुपमा १५ दिनको समय दिएर विभिन्न समयमा भएका माग पुरा नगरे फोहोर फाल्न रोक लगाउने चेतावनी दिइएकोमा महानगर तथा केन्द्र सरकारले कुनै व्यवस्था नगरेपछि शनिबार प्रभावित क्षेत्रका पालिकाले पत्रकार सम्मेलन गरी संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै ३ बुँदे माग राखेका हुन् ।
बैज्ञानिक ढंगबाट फोहोर व्यवस्थापन गर्न, प्रभावित नागरिकहरुको उचित व्यवस्थापन, आवश्यकताको आधारमा मानववस्तीको व्यवस्थापन र यसभन्दा अघिका सम्झौताहरु पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।
धादिङको धुनिवेशी,नुवाकोटको ककनी र बेलकोटगढी नगरपालिकाका प्रमुखहरुको हस्ताक्षर रहेको प्रेस विज्ञप्तीमा विगत १८ बर्षदेखि काठमाण्डौ महानगरपालिकाको संयोजनमा १८ वटा नगरपालिकाको फोहर नुवाकोट जिल्लाको ककनी गाउँपालिकाको सिसडोलमा विसर्जन हुँदै आएकोमा २०७९ जेठ १० गतेवाट धादिङ्गको धुनिवेसी वडा नं. १ कुडूले (बञ्चरडाँडा) मा उपत्यकाको फोहोर अब्यवस्थित रुपमा विसर्जन गर्दै आएकाले प्रभावित पालिकाका आम नागरिकले विभिन्न किसिमको समस्या भोग्नु परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।