३२७
Sharesगजेन्द्र थपलिया। कुनै पनि प्रतिस्पर्धामा समावेश भएकामध्ये उत्कृष्टलाई छनोट गर्ने प्रणालीलाई नै मेरिटबेस प्रणाली भन्ने गरिन्छ । कुनै पनि क्षेत्रमा प्रवेश गर्दा मेरिट (सर्वोच्चता) को आधारमा प्रवेश गरेको व्यक्तिको कार्यक्षमता र प्रस्तुतीकरण सधैं नै अब्बल हुने गरेको पाइन्छ । जनताको बहुदलीय जनवादमा पनि पहलकदमी, प्रतिष्पर्धामा श्रेष्ठता भन्ने उल्लेख नै गरेको छ । नेपालमा मात्र होइन विश्वको धेरैजसो सफल व्यक्तिको इतिहास हेर्ने हो भने आफ्नो क्षेत्र वा ठाउँको मेरिटबेसमा अगाडि रहेको पाइन्छ । नेपालको राजनीतिक इतिहास हेर्ने हो भने पनि समयअनुसार र समकक्षीहरुको तुलनामा नेताको उचाइ नाप्ने गरेको पाइन्छ । तत्कालीन परिवेश घटनाक्रम परिस्थिति निर्णय क्षमता, राष्ट्र र राष्ट्रियताप्रतिको दृष्टिकोण देश र जनताप्रतिको उत्तरदायी भावना, दबाब र प्रभावबाट मुक्त हुन सक्ने क्षमता आदिबाट नेताको मूल्यांकन उनीहरुको दर्जा र स्तर इतिहासमा रहने गरेको पाइन्छ । नेपालको इतिहासमा पनि विभिन्न कालखण्डमा नेताहरुले लिएको अडान र निर्णयका कारण राष्ट्रवादी छवि बनाएका छन् । यी छविहरु सापेक्षतामा आधारित भएको पाइन्छ ।
अहिलेको समकालीन राजनीतिज्ञहरुको तुलनात्मक अध्ययन गर्ने हो भने केपी शर्मा ओली नेकपा एमालेको २०७० माघ २१ गते पहिलोपटक संंसदीय दलको नेता चयन भए । २०७१ असारमा नेकपा एमालेको अध्यक्ष चयन भएका ओली २०७२ असोज २४ गते पहिलोपटक प्रधानमन्त्री बने । यसपछि विभिन्न घटनाक्रम र निर्णयलाई आग्रह र पूर्वाग्रहविना कुनै अध्येताले अध्ययन गर्ने हो भने धेरै कुरा तथ्यपूर्ण तरिकाले पुष्टि होला नै ।
२०७२ असोज ३ गते संविधान घोषणा गर्दा प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो । संविधान घोषणा नगर्न विभिन्न शक्ति केन्द्रको दबाब र प्रभाव उत्तिकै थियो । जसलाई वास्तै नगरी नेपालका लागि नेपाली नेता र संविधानसभा नै अन्तिम निर्णय लिने थलो हो भनेर केपी शर्मा ओलीको अडान लिएका थिए । त्यसकारण नेपालको संविधान २०७२ जारी हुनुमा उहाँको निर्णायक हात रहेको छ । संविधान जारी भएपछि कतिपय नेपाली राजनीतिक दलहरु संविधान बहिष्कार गर्ने भन्दै नेपाल र भारतको दश गजामा बसेर आन्दोलनको नाम दिँदै विदेशीको इसारामा नेपाललाई नाकाबन्दी गर्ने काममा सहयोग गरे । त्यसैको बलमा भारतले १३५ दिन नाकाबन्दी गर्यो ।
समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानको नेतृत्व गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा घेराबन्दी, षड्यन्त्र, अनेक जोड र कोणबाट प्रहार निरन्तर भइरह्यो । तर, उहाँ नेपाल र नेपालीप्रति सतिसाल भएर उभिरहनुभयो ।
नाकाबन्दीकै बीचमा पहिलो पटक प्रधानमन्त्री भएका ओली विदेशीसामु नझुकेर नाकाबन्दी नखुलाए तिम्रो निमन्त्रणा नै स्वीकार्दिनँ भन्ने नेपाली प्रधानमन्त्री बन्न पुगे । अन्ततः भारत नाकाबन्दी खुलाउन बाध्य भयो । आफ्नो मुलुकको जमिन मिचिएको कुरा सहन नसकेर जमिनको स्वामित्व फर्काउन देशको नक्सा र सीमांकन परिवर्तन जस्तो अत्यन्त कठिन कामको नेतृत्व गर्ने काम पनि ओलीबाट नै सम्भव भयो । संसदको रोष्टममा उभिएर भारतलाई ‘सिंह मेह जयते कि सत्य मेह जयते’ भनेर प्रश्न गर्न सक्ने नेपाली नेताहरुमा पनि दम भएको राष्ट्र र राष्ट्रियताप्रति उच्च कद राख्ने नेताको रुपमा ओलीकै नाम आउँछ । उनले अनेक अन्तर्राष्ट्रिय दबाबहरुलाई किन्चित नमानी राष्ट्रको पक्षमा निर्णय लिइरहे । समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानको नेतृत्व गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा घेराबन्दी, षड्यन्त्र, अनेक जोड र कोणबाट प्रहार निरन्तर भइरह्यो । तर, उहाँ नेपाल र नेपालीप्रति सतिसाल भएर उभिरहनुभयो ।
२०७४ को निर्वाचनपछि दोस्रो पटक प्रधानमन्त्री भएपछि राष्ट्र, राष्ट्रियता, विकास र समृद्धि जनताको भलाइ, राष्ट्र हित, जन हित आदिबाट त्रसित विदेशीबाट सञ्चालित कतिपय नेताहरुमार्फत उहाँविरुद्ध षड्यन्त्र भइ नै रहेको थियो । जुन कुरा अहिले आएर पुष्टि भएको छ । उहाँ सरकार प्रमुख हुँदा कुनै पनि विदेशीले चलखेल गर्न नपाउने हुँदा सबैको टाउको दुखाइको विषय त बनेको थियो नै । त्यसैले अन्तर्राष्ट्रिय शक्तिहरु एकजुट भएर विरुद्धमा लागि रहेका हुन्थे । आफ्नो स्वार्थअनुरुप हिँडाउन पाउने नेताहरुै भएका हाम्रो जस्तो मुलुकमा अन्तर्राष्ट्रिय शक्तिकेन्द्र ओली जस्ताको विरुद्धमा एकजुट हुनुलाई अनौठो भन्ने कुरा पनि भएन ।
सरकार फेरिनु वा परिवर्तन हुनु ठूलो कुरा होइन । २ महिनामा सरकारमात्र होइन शक्ति फेरिनु, त्यो पनि विदेशीले जे भन्यो त्यो हुनु यो मुलुकको लागि शुभ संकेत भने पक्कै होइन ।
संसदीय निर्वाचन २०७९ मंसिरमा केपी शर्मा ओलीले नेतृत्व गरेको दल नेकपा एमाले तराजुको एकपट्टि र अन्य सम्पूर्ण ५ दल गठबन्धन अर्कोपट्टि चुनाव हुनुले पनि झन यसलाई पुष्टि गर्दछ । जब निर्वाचन परिणाम आयो र गठबन्धनका दलहरुको स्वार्थ मिलेन तब प्रभुहरुको प्रधानमन्त्री को हुने भन्ने व्यक्तिको रोजाइमा पृथकता आयो । त्यतिखेर देशभित्र सरकार बनाउन सक्ने दल छ भन्ने पुष्टि गर्न अन्तर्राष्ट्रिय शक्तिले पत्तो नै नपाई घण्टाभरमा केपी शर्मा ओलीको नेतृत्वमा दलहबीच आपसी समझदारीमा पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन सफल भयो । तर, यो धेरैलाई पचेको थिएन । सरकार बन्नेबित्तिकै विभिन्न नेताहरुलाई दबाब र प्रभाव, लोभ र प्रलोभन लिएर ढोका ढोकामा विदेशी शक्तिहरुको चलखेल सुरु भएको थियो । अनन्तः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हार्नुभयो । तर, नेपाली जनताले जिते । यस्तो हार पहिले पहिले नेताले मात्र थाहा पाउँथे । तर, यस घटनाले अहिले नेपाली जनताले पनि विदेशीको चलखेल सडकमा आएको घाम झैं छर्लङ्गै देखेका छन् ।
सरकार फेरिनु वा परिवर्तन हुनु ठूलो कुरा होइन । २ महिनामा सरकारमात्र होइन शक्ति फेरिनु, त्यो पनि विदेशीले जे भन्यो त्यो हुनु यो मुलुकको लागि शुभ संकेत भने पक्कै होइन । केपी शर्मा ओलीले हार्दा केही थिएन । तर, यहाँ नेपाल र नेपालीले हारेको छ । यो चाहिँ चिन्ताको विषय हो । बुझ्नेलाई इसारा काफी छ भने झैं यो अझ अन्तर्राष्ट्रिय विषयका अध्येताहरुले थप अध्ययन गरे नेपाली जनता थप सुसूचित हुने थिए ।
७० को दशकमा समकालीन राजनीतिक नेताहरुलाई हेर्ने हो भने प्रतिकूल अवस्थामा राष्ट्र र जनताप्रति पूर्ण बफादार भई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अन्तर्राष्ट्रिय शक्तिसामु शीर नझुकाइ आँखा जुधाएर आफ्नो कुरा राख्ने र निर्णय लिने सतिसाल जस्तो जबरजस्त नेतामात्र होइन पोलिटिकल मेरिटोक्रासीमा ओली नै सर्वश्रेष्ठ त होइन भन्ने प्रश्न बहसको विषय रहला । अरु निकायमा मेरिटोक्रासी हुन्छ भने अब नेपालको राजनीतिमा पनि पोलिटिकल मेरिटोक्रासी हेर्ने बेला त आएको छैन ?
(थपलिया नेपाल बुद्धिजीवी परिषदका महासचिव हुन् ।)