राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेदवारी दिनुहुने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले भने उम्मेदवारी दिनेरनदिनेसम्बन्धमा निर्णय गरेका छैनन् ।
राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आइतबार मनोनयन दर्ता हुँदै छ । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको उपाध्यक्ष पदको मनोनयन प्रस्ताव आइतबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म दर्ता हुनेछ । मनोनयन दर्ता नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ ।
नेकपा (माओवादी केन्द्र)की नेत्रीसमेत रहनुभएकी अर्यालले सत्ता पक्षबीच राष्ट्रिय सभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रले दाबेदारी दिने सहमति भएबमोजिम आइतबार आफूले उम्मेदवारी दिने जानकारी दिनुभयो । लामो समयसम्म नेकपा ९एमाले०मा रहनुभएकी अर्यालले दोस्रो संविधान सभा निर्वाचनअघि नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको थियो । राष्ट्रिय सभामा उहाँ मधेश प्रदेशबाट सदस्य निर्वाचित हुनुभएको हो ।
सत्तारूढ दलहरू नेकपा (एमाले)का १६, नेकपा (माओवादी केन्द्र)का १५ गरी ३१ जना राष्ट्रिय सभा सदस्य छन् । उपाध्यक्ष पदमा निर्वाचित हुन २९ मत आवश्यक हुनेछ । सत्ताबाहिरका नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी)का आठ, जनता समाजवादी पार्टी नेपालका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका एक र राष्ट्रिय जनमोर्चाका एक गरी २३ जना सदस्य छन् । एक जना स्वतन्त्र र तीन जना मनोनीत छन् । रिक्त एक पदको उपनिर्वाचन यही माघ २५ गते हुनेछ ।
नेपाली कांग्रेसबाट निर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले सत्ताइतरका दलबीच उम्मेदवारीबारे छलफल भइरहेको तर निर्णय भने भइनसकेको बताउनुभयो । उहाँले शनिबार सामान्य छलफल भए पनि सत्ताबाहिरका दलले आन्तरिक छलफल गर्ने जनाएकाले आइतबार बिहान १० बजेसम्म पर्खिने बताउनुभयो ।उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भने प्रस्ताव सोमबार माघ २३ गते बस्ने राष्ट्रिय सभाको बैठकमा प्रस्तुत हुनेछ । उम्मेदवारका प्रस्तावक र समर्थकले उम्मेदवारीको प्रस्तावमा सङ्क्षिप्त छलफल गर्ने र त्यसपछि क्रमअनुसार दर्ता भएको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ । एकल उम्मेदवारी परेको अवस्थामा अध्यक्षले एकल प्रस्ताव दर्ता भएको उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुहुनेछ ।