१२१
Sharesआज माघ १ अर्थात् माघे संक्रान्ति । यस्तै आज राष्ट्रिय योग दिवस पनि रहेको छ । माघे संक्रान्ति मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । थारू, मगर, किराँत समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर मनाउँछन् ।
विविध जाति, समुदाय र समप्रदायको बाहुल्यता रहेको हाम्रो देशमा यो पर्व धेरैले मनाउने गरेको पाइन्छ । तराईका जिल्लाहरूमा मैथिलीले तिला संक्राति पर्वका रूपमा मनाउँछन् । तराईमा यस दिन खिचडी, तिललगायतका परिकार बनाएर खाने गरिन्छ भने माघीलाई थारूहरूको मौलिक संस्कृति पर्व रूपमा रहेको छ । यसैगरी मगर जातिले यस पर्वलाई तीन दिनसम्म विशेष धुमधामका साथ मनाउँछन् । नेपालमा बसोबास गर्ने अधिकांश जाति समुदायको साझा पर्वको रूपमा रहेको छ माघे संक्रान्ति ।
माघे संक्रान्तिका दिन नेपाली प्रचलन अनुसार तरुल, पिँडालु, चाकु, घिउ, तिलौरीलगायत खाने गरिन्छ । विशेष गरी तरुल पुस सकिने राति पकाएर माघे संक्रान्तिको बिहान खाने प्रचलन रहेको छ । जसले गर्दा ‘पुसमा पाके माघमा खाके’ पनि भन्ने गरिन्छ । त्यसैले माघे संक्रान्तिमा केही दिन अगाडिदेखि नै तरुल, पिँडालु, सखरखण्ड, चाकु, स्कुसका जराहरूको माग बढी हुने गरेको छ ।
विशेष गरी हिन्दू, बुद्धमार्गी र किराँत समुदायको साझा पर्वको दिन माघ १ अर्थात् माघे संक्रान्ति रहन गएको छ । यो दिनलाई राई समुदायले येले थेचे र सुनुवार समुदायले सामी पिदार पर्वका रूपमा मनाउँछन् । नेपालका अधिकांश समुदायको साझा चाड रहेकाले माघे संक्रान्तिका दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।
माघ १ मा राष्ट्रिय योग दिवस पनि मनाइँदै आइएको छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक जुन २१ मा मनाइँदै आए पनि नेपाल सरकारले ०७२ सालदेखि माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालेको हो ।
मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड साथै अन्य दलका नेतालगायतले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।