४७
Sharesरसुवा। करिब तीन बर्ष पछि नेपालले निर्यात सुरु गरेसँगै चीनले रसुवागढी नाकामा आफ्नो मुलुकतर्फ स्वागत गरेको छ ।
रसुवागढी नाकाबाट हुने दुइतर्फी व्यापार मंगलबारदेखि नै सुरु भएको जानकारी गराउँदै नेपालबाट चीनतर्फ मंगलबार भन्सार पास भएर सुख्खा बन्दगाह हुँदै गएका ६ वटा ट्रकलाई बुधबार नाकामा भव्य कार्यक्रम गरी स्वागत गरेको हो ।
कोभिड महाहारीपछि लामो समय नेपाल-चीन नाकामा अवरोध देखिएको थियो । नेपालको आग्रहमा चीनले आफ्नो तर्फबाट वस्तु आयातका लागि कोटा तोकेर एकतर्फी रुपमा नाका सञ्चालनमा ल्याए पनि नेपालबाट हुने निर्यात भने ठप्प थियो ।
केही दिनअघि छोटो सूचना पठाएर चीनले नेपालको रसुवागढी नाकाबाट नेपाललाई वस्तु आयात गर्न दिने बताएपछि मंगलबार नेपालबाट करिब ५० लाख ७० हजार रुपैयाँ बराबरको ६ ट्रक नेपाली वस्तु चीनतर्फ निर्यात भएका छन् ।
निर्यात भएका नेपाली बस्तुहरुमा बाँसका मुडा, हस्तकलाका समाग्रीहरुमा बिशेषतः तामाका हस्तकलाका समाग्रीहरु रहेका छन् । बिगत तीन बर्षदेखि यस रसुवागढी नाकाबाट आयात मात्र हुँदै आएकोमा अबदेखि निर्यात हुन लागेपछि यस नाकाबाट हुने ब्यापार घाटा केहि कम हुने देखिन्छ ।
चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, र फलफूल आयात हुँदै आएको छ भने त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो तथा हस्तकलामा आधारीत बिभिन्न समाग्रीहरु चीनतर्फ निर्यात हुने गरेको थियो ।