६७
Sharesबाग्मती प्रदेश सभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण यही पुस १३ गते बुधवार हुने भएको छ । त्यसको भोलिपल्ट अर्थात् पुस १४ गते बिहीवार प्रदेश सभाका अरू सदस्यको शपथ ग्रहण हुने भएको छ ।
बिहान प्रदेश सभा सचिवालयमा बसेको सर्वदलीय बैठकले पुस १३ गते दिउँसाे २ बजे प्रदेश सभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण र १४ गते २ बजे अन्य सदस्यको शपथको मिति तय गरेको कांग्रेस सांसद प्रभात तामाङले जानकारी दिनुभयाे ।
शपथ ग्रहणका लागि प्रदेश सभा सचिवालयले सबै तयारी पूरा गरेको जानकारी गराएको छ । प्रदेश सभाको पुरानै भवन मर्मत गरेर फेरि दोस्रो कार्यकालका लागि प्रदेश सभा बैठक बस्न लागेको हो ।
प्रदेश सभामा सबैभन्दा ज्येष्ठ सदस्य नेकपा माओवादी केन्द्रका रामप्रसाद ढुङ्गानाले अरू सांसदलाई शपथ गराउनु हुने छ । त्यसभन्दा अघि उहाँले प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष शपथ ग्रहण गर्नुहुने छ ।
प्रदेश सभाका एक सय १० सांसदमध्ये ज्येष्ठ सदस्यका आधारमा ढुङ्गानालाई प्रदेश प्रमुखले शपथ गराउनु हुने छ। ढुङ्गानाले बाँकी सांसदलाई शपथ ग्रहण गराएर आउँदाे अधिवेशनको सुरुवात गर्नु हुने छ । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभामा सभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यले सभाको अध्यक्षता गर्ने व्यवस्था रहेको छ । त्यहीअनुसार नुवाकोट निर्वाचन क्षेत्र २ (क) बाट निर्वाचित ढुङ्गानाले प्रदेश सभाको आउँदाे अधिवेशनको बैठक सञ्चालन गर्नु हुने छ ।
निर्वाचन आयोगले प्रदेश सभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार ढुङ्गाना ७२ वर्षकाे हुनुहुन्छ । उहाँको जन्म २००६ साल असोज २ गते भएको थियो । उज्यालो अनलाइनमा खबर रहेको छ ।