१२९
Shares
आगामी ५ वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि धादिङ सहित देशैभर मतदान सुरु भएको छ। आज बिहान ७ बजेबाट मतदान सुरु भएको हो । तोकिएका मतदान केन्द्रबाट अपराह्न ५ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन सकिएर मतपेटिका संकलन हुने बित्तिकै मतगणना सुरु गर्ने र तीन दिनभित्र प्रत्यक्षतर्फको गणना सक्ने आयोगको कार्यतालिका छ । एक जना मतदाताले चारवटा मतपत्रमा स्वस्तिक चिह्न लगाउनुपर्नेछ। प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) र समानुपातिक गरी दुई र प्रदेश सभातर्फ प्रत्यक्ष र समानुपातिक गरी दुई प्रकारका गरी चार प्रकारका मतपत्रमा स्वस्तिक चिह्न लगाउनुपर्नेछ । आसन्न निर्वाचनमा धादिङका २ लाख ६५ हजार ९ सय ९६ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालय धादिङले जनाएको छ । निर्वाचनका लागि धादिङमाा १ सय १४ मतदान स्थल र ३ सय ३ मतदान केन्द्र तोकिएको छ । मतदानस्थलको पहिलो घेरामा नेपाल प्रहरी, दोश्रो घेरामा सशस्त्र प्रहरी र सवैभन्दा बाहिरको घेरामा नेपाली सेना बस्ने प्रवन्ध मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि १ हजार ६ सय ८८ जना म्यादी प्रहरी सहित २ हजार ५ सय सुरक्षाकर्मी परिचालित भएका छन् ।