३५८
Sharesधादिङ , प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिएसँगै धादिङका राजनीतिक दलहरुले चुनावी अभियानलाई तिव्र बनाएका छन् । यतिवेला जिल्लाका राजनीतिक दलहरु मतदाता भेटघाट तथा दलका भेला र बैठकमा केन्द्रित भएका छन् । उम्मेदवारहरुका साथमा राजनीतिक दलहरुले चुनावी माहोललाई सक्रिय बनाएका छन् । खासगरी गठबन्धनका दलहरु र नेकपा एमाले तथा राप्रपाका संयुक्त चुनावी अभियान जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा केन्द्रित भएका छन् ।
यसैक्रममा नेकपा एमालेले धादिङ निर्वाचन क्षेत्र नम्वर १ को चुनावी कार्यक्रम लाइ तिब्रता दिइरहेको छ। चुनावी अभियान अन्तर्गत मंगलबार धादिङको थाक्रे गाउँपालिका–१ भुमेस्थानमा संघिय सांसदका उम्मेदवार भुमि त्रिपाठीले जनताका लागि एमाले चाहिने र एमालेले जनताको लागी काम गर्ने बताउनुभएको छ । उहाँले उक्त क्षेत्रमा पर्यटन मार्ग प्रवद्र्धन र यसलाई व्यवस्थित बनाएर लेक क्षेत्रको पर्यटन विकास गरी आर्थिक आम्दानी बढाउन लागि पर्ने बताउनुभयो । उहाँले समृद्धिको सपना पुरा गर्न एमालेका उम्मेदवारलाई मत दिन मतदातालाई अनुरोध गर्नुभयोे । तेस्तै कार्यक्रममा यस भूगोल सबै प्रकारले उपयुक्त भएको कारण यस क्षेत्रमा विकासको पूर्वाधार सगै कृषिमा आधुनिकरण देखि शिक्षा ,स्वास्थ्य ,खानेपानी , लागायातामा एमालेले मात्र काम गर्न सक्ने क्षेत्र नं १ क का प्रदेश सदस्य उम्मेदवार रमेश आचार्यले बताउनु भयो। तेस्तै एमाले जनताको लागि सधै सेवक रहेको एमाले बागमती प्रदेश कमिटिका नरेश खतिवडा ले बताउनु भयो ।
मंगलबारनै धादिङ निर्वाचन क्षेत्र नम्वर २ को चुनावी कार्यक्रम खनियाबास गाउँपालिकामा सम्पन्न गरेको छ । एमाले र राप्रपाको संयुक्त मतदाता भेटघाट अभियान अन्तर्गत खनियाबास गाउँपालिका–२ को आक्थलीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेकपा एमालेका संघिय सांसदका उम्मेदवार खेम लोहनीले देश विकासका लागि एमाले र राप्रपाका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभएको छ । कार्यक्रममा बोल्दै लोहनीले नेपाली जनताको सुख दुःखको साथी भएकाले मंसिर ४ गते हुने निर्वाचनमा एमाले र राप्रपा धादिङका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभएको हो । उहाँले आफ्नो गाउँ ठाउँको विकास गर्ने र स्थानीयस्तरमा जनताका समस्या र पीरमर्कामा साथमा रहन सक्ने उम्मेदवार छान्न आग्रह गर्नुभएको छ । समृद्धिको सपना पुरा गर्न आफु जनतामाझ आएको बताउनुभयो ।
कार्यक्रममा राप्रपाबाट प्रदेश सासद उम्मेदवार डम्बर तामाङले उत्तरी धादिङको विकासको लागि एमाले र राप्रपाबिच चुनावी तालमेल भएको भन्दै त्यहीअनुसार मत दिन मतदातालाई अनुरोध गर्नुभयोे । लोहनी र तामाङले खनियाबासको दार्खा, चौकी, अक्थली, गणेशकुण्ड लगाएतको क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ । कार्यक्रममा एमालेका संघिय सांसदका उम्मेदवार खेम लोहनी, राप्रपाबाट प्रदेश सासद उम्मेदवार डम्बर तामाङ, रामहरी, शम्भु थापा लगाएतका एमाले र राप्रपाको टोलि सहभागिता रहेको छ ।
यसैगरी मंगलबार नै धादिङ क्षेत्र नं १ ख का प्रदेश सभा सदस्यका उम्मेदवार गजेन्द्र थपलियाले सिद्धलेक गाउँपालिका वडा नं १ स्थित नलाङ बैरेनी, वडा नं २ को तारनलाङ लगाएतका क्षेत्रमा मतदातासँग भेटघाट गर्नुभएको छ । घरदैलो कार्यक्रममा विकास र समृद्धिको लागि मत दिन आग्रह गनुभएको छ । त्यस्तै धादिङ क्षेत्र नं २ क का प्रदेश सासद उम्मेदवार डा.रामकुमार अधिकारीले निलकण्ठ नगरपालिका वडा नम्बर १ का मतदातासंग भेटघाट गर्नुभएको छ ।
उता सत्ता साझेदार दलहरु सम्मिलित गठबन्धनले पनि मंगलबार नै गंगाजमुना गाउँपालिकामा मतदाता भेटघाट कार्यक्रम सञ्चालन गरेको छ । धादिङ प्रतिनिधि सभा क्षेत्र नं २ का का साझा उम्मेद्वार रामनाथ अधिकारी सम्मिलित टोलीले धादिङको गंगाजमुना गाउँपालिकाको वडा नं. ३ स्थित गुम्दिमो शुभकामना आदान प्रदान तथा अन्तक्र्रिया कार्यक्रम गरेको हो ।
सो क्रममा गठबन्धनका साझा उम्मेदवार रामनाथ अधिकारीले उत्तरी धादिङको समग्र विकासको जिम्मा अब बन्ने गठबन्धनको सरकारले लिने बताउनुभयो । उहाले विकासका पूर्वाधारको जग बसालिसकेको हुनाले अन्य आवश्यक विकास योजनाको काम अब बन्ने सरकारले जिम्मा लिने बताउनुभयो । त्यसै गरी सोहि कार्यक्रममा सम्बोधन गर्दै धादिङ क्षेत्र २ प्रदेश ख का उम्मेदवार जगत सिंखडाले निकै पछाडि परेको उत्तरी क्षेत्रको विकासमा आफ्नो अघिल्लो कार्यकालमा केहि सुरुवात गरेको र अपुरा योजना तथा उत्तरी क्षेत्रको साच्चै बिकासका निम्ती आफनो उम्मेद्वारी रहेको बताउनुभयो ।